सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व संकलनमा वृद्धि

images
images
images
वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व संकलनमा वृद्धि

नेपालले सबैभन्दा धेरै भारतसँग चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार रूपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

images
images

काठमाडौं- मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कुल राजस्व संकलनमा भने सकारात्मक परिवर्तन आएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८८ अर्ब १७ करोड राजस्व संकलन भएकामा चालु आव २०८०/८१ को सोही अवधिमा दुई खर्ब १० करोड रूपैयाँ राजस्व संकलन भएको छ। जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो।

images
images
images

राजस्व संकलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ। मुलुकको कुल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले संकलन गर्दै आएको छ। चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्यांकलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन्। 

images

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त वस्तुबाट गत आवको पुस मसान्तसम्म ६६ अर्ब ५६ करोड रूपैयाँ (कुल राजस्वको ३५ दशमलव चार प्रतिशत) राजस्व संकलन भएकामा यस आवको पुस मसान्तसम्म ८२ अर्ब ७८ करोड रूपैयाँ (कुल राजस्वको ४१ दशमलव चार प्रतिशत) संकलन भएको छ। गत आवको तुलनामा सो राजस्व २४ दशमलव चार प्रतिशतले बढी हो।

images

गत आव पुस महिनासम्मको तुलनामा २० अर्ब ६९ करोड बढी राजस्व उठेको छ जुन रकम अहिलेसम्म संकलन भएको राजस्वको १० दशमलव तीन प्रतिशत राजस्व हो। भन्सार विभागको चालु आवको पुस मसान्तसम्म तीन खर्ब छ अर्ब १७ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा कुल दुई खर्ब १० करोड रूपैयाँ राजस्व संकलन गरी लक्ष्यको तुलनामा ६५ दशमलव ३६ प्रतिशत राजस्व संकलन भएको छ। जुन वार्षिक लक्ष्यमा ३१ दशमलव ८८ प्रतिशत राजस्व संकलन भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

images
images

विभागले संकलन गर्ने राजस्वमा मुख्यतः भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको हिस्सा रहेको छ। भन्सार प्रशासनबाट चालु आवको पुस मसान्तसम्म संकलित कुल राजस्वमध्ये ८८ अर्ब ८० करोड रूपैयाँ भन्सार महसुल, ८७ अर्ब ४१ करोड रूपैयाँ मूल्य अभिवृद्धि कर, १८ अर्ब १० करोड रूपैयाँ अन्तःशुल्क संकलन भएको जनाएको छ।

त्यस्तै दुई अर्ब ४१ करोड रूपैयाँ सडक मर्मत तथा सुधार दस्तुर, तीन अर्ब ३९ करोड रूपैयाँ सडक निर्माण तथा सम्भार दस्तुरबापत संकलन भएको छ। जुन सोही अवधिमा संकलित राजस्वमध्ये भन्सार महसुलको हिस्सा ४४ दशमलव एक प्रतिशत, मूल्य अभिवृद्धि करको ४३ दशमलव सात प्रतिशत, अन्तःशुल्क नौ दशमलव एक प्रतिशत, सडक मर्मत तथा सुधार दस्तुर एक दशमलव दुई प्रतिशत र सडक निर्माण तथा सम्भार दस्तुर एक दशमलव सात प्रतिशत रहेको छ।

विभागको तथ्यांकअनुसार चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा नेपालले कुल आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ। सोमध्ये सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रूपैयाँ बराबरको आयात भएको छ भने ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ।

उक्त व्यापारलाई विश्लेषण गर्दा नेपालले सो अवधिमा करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ। पुस मसान्तसम्ममा छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रूपैयाँ बराबरको व्यापार घाटा देखिएको हो। गत आवको पछिल्लो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ। समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ।

नेपालले सबैभन्दा धेरै भारतसँग चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार रूपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। छ महिना अवधिमा भारतबाट चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख रूपैयाँ बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाख रूपैयाँ बराबर मात्रै छ।

नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन्। पुस मसान्तसम्ममा चीनसँग रु एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड, युक्रेनसँग नौ अर्ब ९६ करोड र मलेसियासँग आठ अर्ब ६० करोड रूपैयाँ बराबर व्यापार घाटा छ।

नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्तराज्य अमेरिका पहिलो स्थानमा छ। चालु आर्थिक वर्षको छ महिना अवधिमा नेपालले अमेरिकाबाट सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार रूपैयाँ बराबरको आयात गर्दा आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार रूपैयाँ बराबरको निर्यात गरेको छ। अर्थात् ७० करोड ३६ लाख रूपैयाँ बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ। 

पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ। पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाख रूपैयाँ बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख रूपैयाँ बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड रूपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ। रासस

images

प्रकाशित : शनिबार, माघ १३ २०८००२:३१

प्रतिक्रिया दिनुहोस