शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

न चढ्यो न झर्‍यो, पुँजी बजारको अवस्थाले अन्योलमा लगानीकर्ता

मंगलबार, माघ ९ २०८०
न चढ्यो न झर्‍यो, पुँजी बजारको अवस्थाले अन्योलमा लगानीकर्ता

काठमाडौं- उचाइतर्फ जाँदै २२०० को बिन्दु पार भइसकेको सेयर बजार अहिले पुन: २१०० बिन्दुबाट पनि तल झरेको छ। गएको साता समग्रमा ६६.८२ अंकले सुधार देखिएको सेयर बजारमा यो साता लगातार दुई कारोबार राताम्य भएर तेस्रो कारोबार स्थिर देखिएको छ।

उतारचढावपूर्ण बजार सुधारतर्फ लागिरहँदा यो साता भने तीन कारोबार लगानीकर्ताले सोचेजस्तो हुन सकेन। तीन दिनमै बजार ५७.५२ अंकले घटेको छ। 

आइतबार २५.६३ अंकले र सोमबार ३१.४९ अंकले घटेको बजार मंगलबार ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा पुगेको छ। १०३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ। १३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता बुधबार कारोबार सुरु भएदेखि निरन्तर बढेको बजारले मनोवैज्ञानिक आधार बिन्दु मानिएको २२०० को बिन्दुसमेत पार गरेको थियो। जहाँ ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँको कारोबार भएको थियो। त्यसयता कारोबार रकम राम्रो देखिए पनि बजार अपेक्षाअनुसार हरियालीतर्फ बढेको छैन। 

नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहँदा उतारचढावको अवस्था देखिन्छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै अघि बढिरहेको छ। यो साता तीन कारोबारमा आएको गिरावटले भने लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। 

लगानीकर्ताहरू अहिलेको उतारचढावपूर्ण अवस्थामा पनि बजार मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा भने आशावादी नै देखिएका छन्। अहिले संगठित लगानीकर्ताहरू पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुबाट अघि बढ्ने अपेक्षामा छन्। यो साता पनि उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने उनीहरू बताउँछन्। 

बजारको अहिलेको अवस्था उही बिन्दु वरपर नै तलमाथि भइरहने नै छ। लामो समय १९०० को बिन्दु आसपास उतारचढावमा रहेको बजार अहिले २१०० बिन्दु वरपर घुमिरहने देखिएको विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू कसरी अघि बढ्छन् त्यहीअनुसार बजारको अवस्था तय हुने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, माघ ९ २०८०१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend