काठमाडौं- निरन्तर वृद्धितर्फ लागेको सेयर बजार बुधबारको कारोबारमा भने थामिएको छ। गएको साता ३९.७१ अंकको सुधार देखिएको बजारमा यो साता दुई कारोबार नै राम्रो सुधार देखिएको थियो।
बुधबार ठूलो उतारचढावबी बजारमा करेक्सन देखिएको हो। कारोबार सुरु भएदेखि निरन्तर बढेको बजारले अहिले मनोवैज्ञानिक आधार बिन्दु मानिएको २२०० को बिन्दुसमेत पार गरेको थियो। १ बजेसम्मको कारोबारमा २२१५ को बिन्दुमा पुगेको बजार अन्तिम दुई घण्टा उतारचढावबीच ओरालो लाग्यो।
बुधबार कारोबार बन्द हुँदा १२.१० अंकले घटेर बजार २१६३.०६ बिन्दुमा झरेको छ। ६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ। १८० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
कारोबारका हिसाबले भने बुधबार बजारले सुखद संकेतकै निरन्तरता देखिएको छ। बुधबारको कारोबार रकम गएको दुई वर्षयताकै बढी हो। नेप्सेमा यसअघि २०७८ माघ २ गते ९ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको थियो।
यो साता पहिलो कारोबारमा आइतबार ३१.६२ अंकले बढेको बजार सोमबारको बिदापछि मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको थियो। गएको साता पनि बजार लगातार तीन कारोबारमा बढेर बिहीबार ०.६२ घटेर थामिएको थियो।
नीतिगत सहजतासँगै अहिलेको अवस्थामा बजारमा लगानीकर्ताको साथ देखिएर उचाइतर्फको यात्रा लिइरहेको छ। केही दिनको राम्रो वृद्धिपछि बजार थामिँदै अघि बढिरहेको छ।
गएको साता आइतबार २६.३६ अंकले घटेको बजार सोमबार ३६.५७ अंकले बढेको थियो। मंगलबार पुन: २०.६२ अंकले बढेको बजार बुधबार पनि ९.५० अंकले बढेको थियो। बिहीबार ०.६२ अंकले घटेको थियो।
लगातारको वृद्धिले लगानीकर्ताहरू मनोवैज्ञानिक आधार बिन्दुबाट बजार पार हुनेमा आशावादी नै देखिएका छन्। अहिले संगठित लगानीकर्ताहरू पनि सुधारोन्मुख देखिएको बजार २२०० को बिन्दुबाट अघि बढ्ने अपेक्षामा छन्।
लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको हो।
बैंक वित्तीय संस्थाहरुले माघ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर करिब १ प्रतिशत बिन्दुले घटाएपछि पनि लगानीकर्ता हौसिएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह नबढेपछि अधिकांश बैंक वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर कष्ट अफ फण्ड सस्तो बनाउने प्रयत्न गरिरेहका छन्। केही वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरसँगै प्रिमियम दर पनि घटाइरहेका छन्।