शुक्रबार, जेठ ४ गते २०८१    
images
images

नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रूपैयाँका दरले नगद लाभांश दिने

images
आइतबार, पुस २९ २०८०
images
images
नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रूपैयाँका दरले नगद लाभांश दिने

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भइ ६१.५१ प्रतिशत पुगेको छ। कम्पनीले कुल ४४.४२ अर्ब रूपैयाँ आम्दानी गरी ७.९२ अर्ब रूपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

images
images

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सेयरधनीलाई प्रतिसेयर ४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको आइतबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

images
images
images

साधारणसभामा करिब ९२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो। उक्त सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ।

images

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईँलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ।

images
images

त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजंष जोशी निर्विरोध निर्वाचित भएका छन्। 

images
images

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेका थिए।

प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताए।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भइ ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल ४४.४२ अर्ब रूपैयाँ आम्दानी गरी ७.९२ अर्ब रूपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने २८.४६ अर्ब रूपैयाँ राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको छ।’ 

सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टी (भोइस ओभर एलटीई) सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलतापूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको उनले बताए।

यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरुमा अत्याधनिुक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उनले बताए। अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाइ ब्याण्डविथ कनेक्टिभीटी विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिसको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा यस क्षेत्रमा भइरहका नवप्रवर्तन र विकासमा आधारित प्रविधि र सेवा विस्तार गर्न अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको पनि उनले जानकारी दिए। ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बाट प्राप्त सहयोगको अधिकतम प्रतिफल प्राप्त हुनेगरी सूचना महामार्ग निर्माण गर्ने कार्यले गति लिएको समेत उनले बताए।

कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले अगाडि भने, ‘देशभर फोरजी/एलटीई तथा एफटीटीएच सेवा विस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ। प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ। अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंकमार्फत सेवा उपलब्ध गराइने र विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ।’

कम्पनीले १६औँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०८० पुस २९ गते) देखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ।


प्रकाशित : आइतबार, पुस २९ २०८००४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend