शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

राष्ट्रिय वाणिज्य बैंकको सफ्टवेयर खरिद : सूचीकृत कम्पनीको नाम तीन महिनापछि संशोधन

सोमबार, पुस २३ २०८०
राष्ट्रिय वाणिज्य बैंकको सफ्टवेयर खरिद : सूचीकृत कम्पनीको नाम तीन महिनापछि संशोधन

सूचीकरणभन्दा पहिले नै आरएफपी मापदण्ड बनाउनुपर्नेमा सूचीकरणपछि बैंकले त्यस्तो मापदण्ड बनाएको पाइएको छ।

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सफ्टवेयर खरिद प्रक्रियाको सुरुवात नै शंकास्पद देखिएको छ। 

बैंकिङ सफ्टवेयर खरिदका लागि भन्दै आह्वान गरिएको आसयपत्रका लागि आवेदन दिएका कम्पनीको नामावली जेठ १९ गते नै सूचीकृत गरिएको थियो। 

प्रस्तावमा उल्लेख गरिएको सर्त पूरा गरेका कम्पनीलाई सूचीकरण गरिने व्यवस्थाअनुसार बैंकले जेठ १९ गते चारवटा कम्पनीको नाम सूचीकरण गरेको थियो। सार्वजनिक सूचना नै जारी गरिएको थियो। 

सूचीकरणमै गडबडी गरेको पाइएको छ। जेठमा पहिलो सूचीकरण निकालेको बैंकले भदौमा आएर त्रुटी भएको भन्दै पहिलेको कम्पनी हटाएर अर्को कम्पनीलाई सूचीकृत गरेको पाइएको छ। 

सूचीकरणमा त्रुटी भएपछि सकभर तत्काल र छिटो सच्याउनुपर्नेमा बैंकले भने भदौ ३१ गते अर्को कम्पनीको नाम हालेको छ। 

जेठमा निकालेको सूचीकरणमा 'थकराल वन नेपाल' नामको कम्पनी सूचीकरणमा परेको थियो। तर जेठमा उक्त कम्पनीको ठाउँमा सिंगापुरको 'अस्पायर सिस्टम कन्सल्टिङ पीटीई' कम्पनीलाई सूचीकरण गरिएको छ। 

चार महिनापछि कुनै एउटा कम्पनीलाई हटाएर अर्को कम्पनी ल्याउनुमा के त्रुटी थियो र कारण के हो भनेर बैंकले बोलपत्रदातालाई जानकारी दिएको छैन। 

मिलेमतोमा यस्तो गरिएको हुनसक्ने भन्दै पीडितहरूले गुनासो गर्दै हिँडेका छन्। 

त्यस्तै यो बोलपत्रमा तोकिएको सर्तबिपरीतको कम्पनी सूचीकरण भएको पाइएको छ। बैंकले बोलपत्र आह्वान गर्दा अन्तर्राष्ट्रिय तथा नेपालमा पनि काम गरेको अनुभव भएको हुनुपर्ने तोकिएपनि बंगलादेशभित्रमात्र अनुभव भएको एउटा कम्पनी सूचीकरणमा परेको छ। 

फ्लोरा टेलिकम र फ्लोरा सिस्टम जेभी सूचीकरणमा परेको छ। जब कि यो कम्पनीले न नेपालमा काम गरेको छ न बंगलादेशबाहेक अन्यत्र काम गरेको छ। अन्तर्राष्ट्रिय अनुभवको अपब्याख्या गर्दै कम्पनीलाई सूचीकरण गरिएको छ। 

अन्तर्राष्ट्रिय कम्पनीको सफ्टवेयर खरिद गर्ने भन्दै आएका उच्च व्यवस्थापकहरूले चार कम्पनीमा एउटामात्र विदेशी त्यसमा पनि योग्यता नपुगेको भएपछि सिंगापुरको कम्पनीलाई सूचीकरण गरिएको हुनसक्ने आरोप लागेको छ। 

बैंकको यो अनियमितताको विरुद्ध अख्तियारमा उजुरी परेको छ। 

हालसम्म स्वदेशी कम्पनी मर्कन्टायल सिस्टमकै सफ्टवेयर प्रयोग गर्दै आएको बैंकले विदेशी सफ्टवेयर ल्याउने भन्दै खरिद प्रक्रिया अघि बढाएको थियो। 

सूचीकरणभन्दा पहिले नै आरएफपी मापदण्ड बनाउनुपर्नेमा सूचीकरणपछि बैंकले त्यस्तो मापदण्ड बनाएको पाइएको छ। 


प्रकाशित : सोमबार, पुस २३ २०८०१६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend