शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा देखियो पुन: हरियाली, लगानीकर्ताले भेटलान् मनोवैज्ञानिक आधार बिन्दु?

सोमबार, पुस २३ २०८०
सेयर बजारमा देखियो पुन: हरियाली, लगानीकर्ताले भेटलान् मनोवैज्ञानिक आधार बिन्दु?

काठमाडौं- गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता पहिलो कारोबार घटेपनि दोस्रो कारोबारमा हरियाली देखिएको छ। आइतबार २६.३६ अंकले घटेको बजार सोमबार भने वृद्धितर्फ देखिएको हो। यसले बजारको उतारचढावपूर्ण अवस्था देखाइरहे पनि लगानीकर्ताहरू मनोवैज्ञानिक आधार बिन्दुसम्म बजार पुग्नेमा आशावादी छन्। 

लगातार बढ्दै २८८.५१ अंकको सुधार देखिएपछि गएको ५ गते ३२.७७ अंकले घटेर बजार थामिएको थियो। त्यससहित लगातार ११७.७६ अंकले घटेपछि बजारमा गएको साता बुधबार सुधार देखिएको थियो। तर बिहीबार पुन: झिनो अंकले घटेको बजार यो साता आइतबार पनि घटेको थियो। 

सोमबार भने बजार ३६.५७ अंकले बढेर २०५९.४९ बिन्दुमा पुगेको छ। २१२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ। २९ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। गएको सातायता भने वृद्धि थामिएर बजार उतारचढावमा देखिएको हो। 

विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू अहिले बजारको सुधारको अवस्था निरन्तर हुँदै २२०० को बिन्दुमा पुग्ने आशमा देखिन्छन्। मनोवैज्ञानिक बिन्दु लगानीकर्ताको आधारबिन्दु हो। आधारबिन्दुुबाट बजार खस्न पनि सक्छ, उकालो लाग्न पनि सक्छ। लामो समयसम्म २००० को बिन्दु आसपास रहेको बजारले अपेक्षाकृत सुधार भेट्न सकेको छैन। 

लगानीकर्ताहरू अहिले बजार पस्न डराएका छन् भने सस्तो मूल्यमा बेच्न पनि तयार अवस्थामा नहुँदा पर्ख र हेरको स्थितिमा अहिलेको बजार देखिन्छ। यसैले टेको लाग्ने बिन्‍दु भेटिन मुस्किल भइरहेको छ। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको थियो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजारले उतारचढावबीच लगानीकर्ताको साथ पाइरहेको थियो। 

यो साता पहिलो कारोबारमा आइतबार २६.३६ अंकले घटेर बजार २०२२.९२ बिन्दुमा झरेको थियो। जहाँ ८१ कम्पनीको मात्र सेयर मूल्य बढ्दा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो। 


प्रकाशित : सोमबार, पुस २३ २०८०१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend