शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अग्रवाल र गोल्यानको रिलायन्स स्पिनिङले पायो बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति

शुक्रबार, पुस २० २०८०
अग्रवाल र गोल्यानको रिलायन्स स्पिनिङले पायो बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको अनुमति

काठमाडौं- शशिकान्त अग्रवाल र पवन गोल्यानको संयुक्त लगानीमा सञ्चालित रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ प्रकृयामार्फत प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छ। 

बिहीबार धितोपत्र बोर्डले रिलायन्स स्पिनिङलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल सकिनै लाग्दा रिलायन्सलाई बुक बिल्डिङ प्रकृयामार्फत आईपीओ निष्कासनका लागि अनुमति दिएका हुन्। हमाल दुई साता बिदामा बसेर फर्किएपछि उक्त निर्णय गरेको धितोपत्र बोर्ड स्रोतले जनाएको छ। बिदापछि दुई दिन हाजिर भएर उनी बाहिरिसकेका छन्। 

रिलायन्स स्पिनिङले ६ सय ८ रुपैयाँदेखि ९ सय ८ रुपैयाँको रेन्ज पाएको छ। कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

ग्लोबल आईएमई क्यापिटलाई यस कम्पनीको सेयर बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ।  

शशिकान्त अग्रवाल मेरियट होटल तथा रिलायन्स चिनी उद्योगका मालिक हुन्। उनको लगानी बैंक वित्तीय संस्थाहरुमा समेत रहेको छ।

यस्तै पवन गोल्यान होटल हायात प्यालेसका सञ्चालक हुन्। उनको लगानी एनएमबि बैंकमा पनि रहेको छ। हाल उनी एनएमबि बैंकका अध्यक्षसमेत हुन्। कृषि क्षेत्रमा लगानी गर्ने भन्दै उनले माटो ब्राण्ड सञ्चालन गरिरहेका छन्। यस्तै उनी बैंक वित्तीय परिसंघ नेपालका अध्यक्षसमेत हुन्।

रिलायन्स स्पिनिङ मिलले नेपालमा धागो उत्पादन गरी भारत तथा टर्की लगायतको देशमा निर्यात गर्दै आएको छ। यस कम्पनीको उद्योग विराटनगरको दुहवीमा छ। कम्पनीले ३ हजारभन्दा बढी श्रमिकलाई रोजगारी दिइरहेको छ। रिलायन्स स्पिनिङ मिल करिब ६ अर्ब लागतमा सञ्चालित धागो उद्योग हो।


प्रकाशित : शुक्रबार, पुस २० २०८०१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend