शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत पुस २५ देखि आईपीओ निष्कासन गर्ने

मंगलबार, पुस १७ २०८०
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत पुस २५ देखि आईपीओ निष्कासन गर्ने

लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौं- सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गर्न लागेको हो।

त्यसैगरी, कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले उक्त आईपीओ प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन खुला गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा दुबै समूहका लगानीकर्ताले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाहरूले भने माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तिय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लिरिङद्वारा सञ्चालित सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रणलीमार्फत् गरी आवेदन दिन सक्नेछन्।


प्रकाशित : मंगलबार, पुस १७ २०८०१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend