आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

आन्तरिक पर्यटनमा आशा जगाउँदै ‘जाउँ है पोखरा’ अभियान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ६ २०८०
images
आन्तरिक पर्यटनमा आशा जगाउँदै ‘जाउँ है पोखरा’ अभियान
images
images

कास्की- आन्तरिक पर्यटन प्रवर्द्धनमा आशा जगाउँदै पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न भएको छ।

images
images
images

होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यसहित गत मङ्सिर २९ गतेदेखि उक्त अभियान सञ्चालन गरिएको हो।  

images
images

अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध व्यवसायीबीच छलफल एवम् अन्तरक्रिया गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। अभियानमा पर्यटन सम्बद्ध नाट्टा, टानका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो। सो अवसरमा संघका तर्फबाट पोखरा भ्रमणको निम्तो दिइएको थियो। 

images
images

पोखरा र त्यस वरपरको भ्रमणका लागि पाँचवटा प्याकेज सार्वजनिक गरिएका अध्यक्ष सुवेदीले जानकारी दिए। दुई दशकअघि सुरु भएको ‘जाउँ है पोखरा’ अभियान प्रभावकारी बनेको थियो। कोभिड-१९ र बैंकको चर्को ब्याजका कारण २५ प्रतिशत व्यवसायी यो क्षेत्रबाट पलायन भएको उल्लेख गर्दै उनले पर्यटनलाई पुरानै लयमा फर्काउन आफूहरुले देशविदेशमा प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाएको बताए।

छलफल एवं अन्तरक्रियाका क्रममा पोखराका पर्यटक पश्चिम पठाउने र पश्चिमबाट पर्यटक पोखरा भित्र्याउने उद्देश्यलाई पूरा गर्न सीधा हवाई तथा स्तरीय बस सेवा आवश्यक पर्नेमा दुवैतर्फका व्यवसायी एकमत भएका थिए।

संघका महासचिव राजेन्द्र ढकालका अनुसार नेपालगञ्जमा आयोजित अन्तक्रियामा सीमानाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यहोर्नुपर्ने वातावरणको अन्त्य हुनुपर्ने विषयमा चर्चा गरिएको थियो।

त्यस्तै भैरहवामा आयोजित कार्यक्रममा सञ्चालनमा आएर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएको भन्दै त्यसका लागि संयुक्तरुपमा दबाब दिने सहमति भएको थियो।

धनगढीमा आयोजित अन्तक्रियामा पोखरा र धनगढीबीच विगतमा भएको सीधा हवाई उडान पुनः सञ्चालन हुनुुपर्नेमा जोड दिइएको र महेन्द्रनगरमा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न दुुवै क्षेत्रका पर्यटन व्यवसायीले मिलेर पर्यटकीय प्याकेज विकास गर्नुपर्ने विषयमा छलफल गरिएको थियो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालका वरिष्ठ अधिकृत कुन्दन अर्यालले बोर्डले निजी क्षेत्रसँग मिलेर नै पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउँदै आएको उल्लेख गर्दै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटकले नेपालमा भारतीय मुद्रा ल्याउन पाउने व्यवस्था यथाशीघ्र मिलाउनुुपर्नेमा जोड दिए। पोखरा र गौतमबुद्ध विमानस्थलबाट यथाशीघ्र अन्तर्राष्ट्रिय उडान गराउनुपर्ने उनको भनाइ थियो।

पर्यटकीय नगरी पोखराका एक हजार दुई सय होटलमा ४० हजार श्यया रहेका र कुल १५ हजारले रोजगारी पाएका छन्। यहाँको होटलमा पाँच अर्बभन्दा बढीको लगानी भइसकेको संघले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend