शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा लगातारको वृद्धि थामियो, साताभरको अवस्था लगानीकर्ताका लागि सुखद

बिहीबार , पुस ५ २०८०
सेयर बजारमा लगातारको वृद्धि थामियो, साताभरको अवस्था लगानीकर्ताका लागि सुखद

काठमाडौं- गएको सातादेखि नै निरन्तर उचाइतर्फ गइरहेको सेयर बजार यो साताको अन्तिम कारोबारमा थामिएको छ। गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साता पनि सेयर बजार वृद्धितर्फ नै लागिरहँदा अन्तिम कारोबारमा केही करेक्सन देखिएको हो।

नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित भइरहँदा बजारले उचाइ लिइरहेको थियो। साताको अन्तिम कारोबारमा वृद्धि थामिए पनि बजारले आउँदो साता पनि उचाइतर्फकै यात्रा गर्ने विश्लेषकहरू बताउँछन्। पछिल्ला कारोबारले लगानीकर्ताका लागि सुखद संकेत नै गरेको छ। लामो समय उतारचढावमा रहेको बजारमा गएको सातायता २८८.५१ अंकको सुधारपछि बजार थामिएको हो।

बिहीबार ३२.७७ अंकले घटेर बजार २१०९.१० बिन्दुमा झरेको छ। ५० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ। १९१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बिहीबार बजार घटे पनि यो साताको अवस्था लगानीकर्ताका लागि सुखद नै देखिन्छ। यो साता समग्रमा बजारमा ११४.४९ अंकको सुधार देखिएको छ। वृद्धितर्फ लागिरहेको सेयर बजारमा यो सातभर कारोबार रकम पनि राम्रो नै देखिन्छ। 

यो साता आइतबार २७.७५ अंकले बढेको बजार सोमबार ३८.१४ अंकले बढेको थियो। मंगलबार पनि ४५.९८ अंकको वृद्धिसँगै २१०६.४८ बिन्दुमा पुगेको थियो। बुधबार ३५.३९ अंकले बढेर बजार २१४१.८७ बिन्दुमा पुगेको थियो। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको हो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको छ। अहिले करेक्सन देखिए पनि बजारको अवस्था उचाइतर्फ लाग्ने नै भएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , पुस ५ २०८०१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend