शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारमा निरन्तर हरियाली, कारोबार रकम बढ्दै ७ अर्ब नाघ्यो

बुधबार, पुस ४ २०८०
सेयर बजारमा निरन्तर हरियाली, कारोबार रकम बढ्दै ७ अर्ब नाघ्यो

काठमाडौं- यो साता लगातार चार कारोबारमा नै सेयर बजार उचाइतर्फ लागेको छ। गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साता पनि सेयर बजार वृद्धितर्फ नै लागिरहेको हो। नीतिगत साथसँगै लगानीकर्ताहरू उत्साहित देखिएका छन्। 

अहिलेको कारोबारले लगानीकर्ताका लागि सुखद संकेत गरेको छ। लामो समय उतारचढावमा रहेको बजारमा गएको सातायता २८८.५१ अंकको सुधार देखिएको छ। 

बुधबार ३५.३९ अंकले बढेर बजार २१४१.८७ बिन्दुमा पुगेको छ। १६१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकम धेरै समयपछि ७ अर्ब नाघेको हो। बुधबार ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार २७.७५ अंकले बढेको बजार सोमबार ३८.१४ अंकले बढेको थियो। मंगलबार पनि ४५.९८ अंकको वृद्धिसँगै २१०६.४८ बिन्दुमा पुगेको थियो। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको हो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको छ। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसिरहेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुन: उचाइतर्फको संकेत गरेको हो। 


प्रकाशित : बुधबार, पुस ४ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend