शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगातार उचाइतर्फ लाग्दै २१०० को बिन्दुमाथि सेयर बजार, ५ अर्ब ९८ करोडको कारोबार

गएको सातायता २५३ अंकको सुधार

मंगलबार, पुस ३ २०८०
लगातार उचाइतर्फ लाग्दै २१०० को बिन्दुमाथि सेयर बजार, ५ अर्ब ९८ करोडको कारोबार

काठमाडौं- यो साता लगातार तीन कारोबारमा नै सेयर बजार उचाइतर्फ लागेको छ। गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साता पनि सेयर बजार वृद्धितर्फ नै लागिरहेको हो। 

आइतबार २७.७५ अंकले बढेको बजार सोमबार ३८.१४ अंकले बढेको थियो। मंगलबार पनि ४५.९८ अंकको वृद्धिसँगै २१०६.४८ बिन्दुमा पुगेको छ। १८३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ। कारोबार रकममा पनि निरन्तर सुधार देखिएको छ। 

अहिलेको कारोबारले लगानीकर्ताका लागि सुखद संकेत गरेको छ। लामो समय उतारचढावमा रहेको बजारमा गएको सातायता २५३.१२ अंकको सुधार देखिएको छ। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको हो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार बढिरहेको छ। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसिरहेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुन: उचाइतर्फको संकेत गरेको हो। अहिले बजारमा लगानीकर्ताको साथ मिलिरहँदा २२०० को बिन्दु सजिलै पार हुने अवस्‍था देखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, पुस ३ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend