आइतबार, भदौ २३ गते २०८१    
images
images

तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ नगर्न निर्देशन, २०८३ असारभित्र काम सक्ने लक्ष्य

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १३ २०७८
images
images
तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ नगर्न निर्देशन, २०८३ असारभित्र काम सक्ने लक्ष्य
images
images

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ नगर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले निर्देशन दिएकी छिन्। उनले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमणका क्रममा यस्तो बताएकी हुन्।

images
images
images

मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गरेकी थिइन्।

मन्त्री भुसालले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा बिलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिइन्।

‘कुलेखानी बाहेक सञ्चालमा रहेका सबै आयोजनाहरु नदीको बहावमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत आयात गर्नु पर्ने र वर्खामा खपत गर्न नसकी खेर फाल्नु पर्ने अवस्था छ’ भुसालले निर्देशन दिँदै भनिन्, ‘यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, नीतिगत निर्णय, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतका सम्पन्न गर्नु पर्छ।’

images

निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्दै उनले निर्माणमा आईपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताइन्।

आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धसञ्चालक किरण कुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, व्यहोरिएको समस्यालगायतका विषयमा जानकारी गराएका थिए।

आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ्ग दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगको ठेक्का सम्झौता १४ भदौ २०७८बाट कार्यान्वयनमा आएको छ। सोङ्ग दा-कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ। ठेकेदार कम्पनीले केबुल सुरुङ्ग, मुख्य पुहँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत गृह खनिरहेको छ। सर्जट्यांकतर्फको पहुँच सुरुङ्ग निर्माण सम्पन्न गरेको छ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ। अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई आठ वटा टावर ठडाइएको छ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर १३ २०७८०७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend