शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

गएको साताको उछाललाई साथ मिल्दा २००० बाट उकालो लाग्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार

गएको सातायता १६९ अंकले बढ्यो

आइतबार, पुस १ २०८०
गएको साताको उछाललाई साथ मिल्दा २००० बाट उकालो लाग्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार

काठमाडौं- सेयर बजारमा गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साताको पहिलो कारोबारले पनि लगानीकर्ताका लागि सुखद संकेत गरेको छ। लामो समय उतारचढावमा रहेको बजारमा अहिलेको अवस्थाले उचाइतर्फको संकेत गरेको छ। गएको सातायता बजारमा १६९.५६ अंकको सुधार देखिएको छ। 

गएको साता १४१.८१ अंकको सुधार देखिएको बजारमा यो साता आइतबार पनि वृद्धि देखियो। आइतबार २७.७५ अंकले बढेर बजार २०२२.३५ बिन्दुमा पुगेको छ। १८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ। ५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको हो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। जसमा सेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार उचालिएको हो। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसिरहेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुन: उचाइतर्फको संकेत गरेको छ। 

गएको साता आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले घटेको थियो। मंगलबार ३६.८६ अंकले बढेको बजार बुधबार २.६० अंकले र बिहीबार पुन: ६.५५ अंकले बढेको थियो। अहिलेको बजारको अवस्था मौसमी वृद्धिभन्दा माथि लागिसकेको र अब उचाइतर्फ नै जाने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : आइतबार, पुस १ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend