शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

उचाइतर्फ बढ्दै २००० बिन्दुनजिक सेयर बजार, मंसिरमा देखियो १४२ अंकको सुधार

बिहीबार , मंसिर २८ २०८०
उचाइतर्फ बढ्दै २००० बिन्दुनजिक सेयर बजार, मंसिरमा देखियो १४२ अंकको सुधार

काठमाडौं- सेयर बजारमा यो साता आइतबारको सकारात्मक सर्किटलाई साथ मिल्नेगरी साताभर सुखद कारोबार देखिएको छ। उतारचढावमा रहेको बजारमा यो साताको अवस्थाले उचाइतर्फको संकेत गरेको छ। 

गत कात्तिक मसान्तमा १८५२.०९ बिन्दुमा रहेको मंसिरको अन्तिम कारोबारको दिन १९९४.६० बिन्दुमा पुगेको छ। एक महिनाको अवधिमा बजारमा १४२.५१ अंकको सुधार देखिएको हो। 

यो साता आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार थामिएर मंगलबार पुन: वृद्धितर्फ लागेको थियो। सोमबार १५.४० अंकले घटेको बजार मंगलबार ३६.८६ अंकले बढेको थियो। बुधबार २.६० अंकले बढेको बजार बिहीबार पुन: ६.५५ अंकले बढेको छ।

बिहीबार ६.५५ अंकले बढेर बजार १९९४.६० बिन्दुमा पुगेको छ। १४० कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ। ९१ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको हो। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए। 

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जामा नरम देखिएसँगै दोस्रो बजार आइतबार सकारात्मक बनेको थियो। सोमबार करेक्सन देखिए पनि बजारले मंगलबार गति देखाउँदै बुधबार र बिहीबार पनि हरियाली नै लिएको छ। अब बजार विस्तारै उचाइतर्फ नै लाग्ने विश्लेषकहरू बताउँछन्। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसिरहेको थियो। केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुन: उचाइतर्फको संकेत गरेको छ। अहिलेको बजारको अवस्था मौसमी हो या बजारले सही बाटो समात्न लागेको हो भन्ने यकिन गर्न भने समय लाग्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend