बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

चिलिमे-त्रिसूली थ्री बी हव प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकियो

images
आइतबार, मंसिर १२ २०७८
images
images
चिलिमे-त्रिसूली थ्री बी हव प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकियो

प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ।

images
images

काठमाडौं- रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ६० प्रतिशत सकिएको छ। प्रसारण लाइनको निर्माण आगामी साउन भित्र सक्ने गरी काम धमाधम भइरहेको छ। 

images
images

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमश : चिलिमे हव र त्रिसूली थ्री बी हब सबस्टेसन निर्माण भइरहेको छ। साथै, चिलिमे –त्रिसूली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन  निर्माणाधीन छन्। 

images
images

दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरुको आपूर्ति ६५ प्रतिशत भइसकेको छ। प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ। ६ वटा टावर खडा गरिएको छ। आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ। 

images
images

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ। आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज र परामर्शदाता पावर ग्रिड, भारत हुन् ।  

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ। टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाइ नगर्न र कामदार थपेर कामलाई तिब्रता दिन आग्रह गरेको छ। 

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक–पटक जनाएको प्रतिबद्धता अनुसार निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरेको हो।   ‘यसै प्रसारण लाइनमा जोडिने तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन,त्यसैले निर्माणलाई तिब्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिंड्नुहोस्,’ उनले भने। ‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्ने छौं, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनु पर्ने छ ।’

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत  आयोजनाको विद्युत चिलिमे हबमा जोडिने छ। प्रसारण लाइन अभावमा आयोजनाहरुको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको थियो।

टोलीले प्रसारण लाइन निर्माणमा आमाछोदिङमो गाउँपालिका—१ हाकुका बासिन्दाले बाहिरबाट कामदार ल्याएर काम लगाउन नहुने भन्दै गर्दै आएको अवरोधलाई हटाउन छलफल गरेको थियो। गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमा दिण्डु तामाङ र स्थानीयबासीसँग हाकुमा छलफल गरिएको थियो। 

प्रसारण लाइनको अभावमा रसुवाबासीको पनि लगानी रहेको आयोजनाको बिजुली खेर जाँदा यसबाट कसैले प्रतिफल नपाउने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले काममा अवरोध नगरी निर्माण कार्यमा सहभागी भई जतिसक्दो छिट्टो काम सक्न दिन आग्रह गरेका हुन्। हाकु क्षेत्रमा १२ वटा टावर निर्माण गर्नु पर्ने छ । अहिले २ वटा टावरको निर्माण सुरु भएको छ। 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो। आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ। 

 


प्रकाशित : आइतबार, मंसिर १२ २०७८१०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend