शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

आइतबारको सकारात्मक सर्किटपछि सोमबार थामियो सेयर बजार, १५ अंकले घट्दा ४ अर्ब ८४ करोडको कारोबार

सोमबार, मंसिर २५ २०८०
आइतबारको सकारात्मक सर्किटपछि सोमबार थामियो सेयर बजार, १५ अंकले घट्दा ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौं- लगातार उतारचढावमा रहँदै आइतबार सकारात्मक सर्किट लागेर १११.२० अंकले बढेको सेयर बजारमा सोमबार भने करेक्सन देखिएको छ। लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि आइतबार उचालिएको थियो।

सोमबार १५.४० अंकले घटेर बजार १९४८.५७ बिन्दुमा झरेको छ। ८१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ। सोमबार दुई घण्टामै तीन अर्ब रुपैयाँको कारोबार भइसकेको थियो। बजारमा १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

आइतबार कारोबार सुरु भएको ५ मिनेटमा ४ प्रतिशतभन्दा बढी बजार बढेपछि कारोबार २० मिनेटलाई रोकिएको थियो। पहिलो सर्किट ब्रेकपछि पुन: कारोबार सुरु भएको सेयर बजार थप १ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो। दोस्रो सर्किट लागेको ४० मिनेटपछि कारोबार हुनसाथ सेयर बजार थप १ प्रतिशतले बढ्दै बजार स्थगित भएको थियो। 

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जामा नरम देखिएसँगै दोस्रो बजार आइतबार सकारात्मक बनेको थियो। सोमबार करेक्सन देखिए पनि बजारले अब विस्तारै गति समात्ने र उचाइतर्फ लाग्ने विश्लेषकहरू बताउँछन्। 

राष्ट्र बैंकको पहिलो मौद्रिक समीक्षामार्फत ५० लाखभन्दा बढी सेयर कर्जाको जोखिमभार १५० बाट १२५ मा झारेको छ। यस व्यवस्थाले सेयर बजारको क्षेत्रमा कर्जा प्रवाह बढ्ने देखिएको छ। योसँगै सेयर बजार बढ्ने अपेक्षा गरिएको छ।

२०७८ सालको मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जामा जोखिमभार १०० बाट बढाएर १५० प्रतिशत पुर्‍याएको थियो। उक्त व्यवस्थालाई पुनरावलोकन गर्दै राष्ट्र बैंकले १२५ प्रतिशतमा झरेको छ। जोखिमभार घटेकाले पुँजी कोषमाथिको दबाब पनि कम हुने भएकाले उक्त क्षेत्रहरूमा कर्जा लगानी बैंक वित्तीय संस्थाको प्राथमिकतामा पर्ने भएको छ।


प्रकाशित : सोमबार, मंसिर २५ २०८०१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend