शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

धरमर गरिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि, आउने साता सम्हालिएर बढ्ला?

बिहीबार , मंसिर २१ २०८०
धरमर गरिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि, आउने साता सम्हालिएर बढ्ला?

काठमाडौं- उतारचढावबीच निरन्तर ओरालोमा देखिएर बुधबार सम्हालिएको सेयर बजारमा बिहीबार सामान्य अंकको वृद्धि देखिएको छ। केही दिन वृद्धि र केही दिन गिरावट भइरहेको सेयर बजार लगातार ७ कारोबारमा घटेर आठौँ कारोबारमा बुधबार सामान्य वृद्धितर्फ देखिएको थियो। बिहीबार पुन: बजार हरियाली बनेको हो। 

बिहीबार ११.७३ अंकको वृद्धिसँगै बजार १८५२.७७ बिन्दुमा पुगेको छ। १७५ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ। गएको केही सातायता एक अर्ब आसपास भइरहेको कारोबार आज झण्डै तीन अर्ब पुगेको हो। 

यो साता आइतबार ७.२९ अंकले घटेको बजार सोमबार ३.४२ अंकले घटेको थियो। मंगलबार पुन: १०.१० अंकले घटेको बजार बुधबार ३.३३ अंकले बढेको थियो। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसेकोमा अहिले १८०० बिन्दुनजिक तलमाथि भइरहेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै ओरालो यात्रा नै बढी भइरहँदा दुई दिन सामान्य वृद्धि देखिएको हो। विश्लेषकहरूका अनुसार अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।

सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। बजारको आकार, लगानीकर्ताको संख्या र कारोबार बढिरहँदा नियामकीय क्षमता भने त्यसअनुरूप नबढेको र अहिलेकै अवस्थामा ठूलो सुधारको अपेक्षा गर्न नसकिने संगठित लगानीकर्ताहरूले बताउने गरेका छन्। 

अहिले दुई दिनको वृद्धिले आउने साता बजारको अवस्था आँकलन गर्न नसकिने भए पनि अर्थतन्त्र सुधारका लागि केन्द्रित हुने सरकारी घोषणाहरू आइरहँदा पुँजी बजारका लगानीकर्ताले पर्ख र हेरको सोच बनाइरहेको विश्लेषकहरू बताउँछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र थप अघि बढ्नेगरी नयाँ घोषणाको तयारी गरिरहेको बताइरहेका छन्। 


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend