शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

विलासी जीवनशैली भएकाहरूको रोष्टर बनाएर निगरानी बढाउँदै आन्तरिक राजस्व विभाग

मंगलबार, मंसिर १९ २०८०
विलासी जीवनशैली भएकाहरूको रोष्टर बनाएर निगरानी बढाउँदै आन्तरिक राजस्व विभाग

सूचनाको आधारमा हुने ट्र्याकिङले वित्तीय पारदर्शिताका लागि अरु अभियानमा पनि सहयोगी हुने विभागको विश्वास छ। राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई पनि यो कामबाट सहयोग हुने विश्वास विभागले लिएको छ।

काठमाडौं- आन्तरिक राजस्व विभागले विलासी जीवनशैली अपनाउनेहरूमाथि निगरानी बढाउने भएको छ। ठूलो कारोबार तथा खर्च धेरै भएका तर करमा योगदान नभएका व्यक्तिको रोष्टर बनाएरै यस्तो निगारानी बढाउने तयारी विभागले अघि बढाउने भएको छ।

नियम र कानूनको अधिनमा रहेरै यस्तो रोष्टर बनाएर करको दायरामा ल्याउने तयारी गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। 

जीवनशैली विलासी हुने, खर्च धेरै गर्ने तर आम्दानी नदेखाएर करको दायराभन्दा बाहिर रहनेहरूलाई निगरानी बढाउने भन्दै आएपनि कार्यान्वयन भने भएको छैन।

कुनै पनि ठूलो धनाढ्यले पनि व्यक्तिगत रुपमा आयकर भने न्यून तिरिरहेको हुन्छ। विलासी जीवनशैलीको स्रोत कर तिरेको रकम हुनुपर्ने मान्यताअनुसार नै विभागले यस्तो तयारी गरेको हो। 

यसका लागि विभागले विभिन्न स्रोतबाट यस्तो रोष्टर बनाउने छ। यस्तो सूचनाको स्रोत अन्य सरकारी निकाय, व्यापारिक प्रतिष्ठानहरूका सूचना, सञ्चार माध्यमसम्महरू हुनसक्ने महानिर्देशक मैनालीले जानकारी दिए। 

कर सूचना सञ्जाल र अनुसन्धान करदाता तथा कारोबारसम्बन्धी सूचनाहरूलाई एकीकृत सूचना प्रणालीमा आवद्ध गर्ने, राष्ट्रिय परिचयपत्र, नेपाल राष्ट्र बैंक तथा नागरिक एप्समा रहेका महत्वपूर्ण सूचना आदानप्रदान गर्नेगरी सम्बन्धित निकायसँग समन्वय गरिने उनको भनाइ छ। 

यस्ता विभिन्न स्रोतबाट आएका सूचनाको आधारमा विभागमा हुने प्रणालीले विश्लेषण गरेर सूची तयार पार्ने छ। यस्तोमा कुनै पनि व्यक्तिले वर्षमै करोडौँका महँगा गाडी किन्ने, घर तथा भिल्ला थप्ने तर व्यक्तिगत आयमा कतै पनि नदेखिने जस्ता गतिविधिलाई ट्र्याक गर्न सजिलो हुने विश्वास विभागको छ। 

यस्तो सूचनाको आधारमा हुने ट्र्याकिङले वित्तीय पारदर्शिताका लागि अरु अभियानमा पनि सहयोगी हुने विभागको विश्वास रहेको छ। राजस्व अनुसन्धान तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई पनि यो कामबाट सहयोग हुने विश्वास विभागले लिएको छ। 

कुनै पनि कम्पनीको सञ्चालक तथा संस्थापकहरूले तलबभन्दा पनि कम्पनीकै सापटी रकम लिएर व्यक्तिगत खर्च चलाउने तर त्यसको ब्याज तिरेर खर्च देखाउने समस्या रहेको भन्दै महालेखाले प्रश्न उठाउँदै आएको छ। यसका लागि विभागले गत वर्ष नै स्वयम् कर घोषणा प्रणालीमा केही परिमार्जन गरेको थियो। 


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend