शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

८ वर्षयताकै कम लाभांशले हिमालयन डिस्टिलरीको सेयर मूल्यमा ठूलो गिरावट

सोमबार, मंसिर १८ २०८०
८ वर्षयताकै कम लाभांशले हिमालयन डिस्टिलरीको सेयर मूल्यमा ठूलो गिरावट

काठमाडौं- ८ वर्षयताकै कम लाभांश प्रस्ताव गरेसँगै हिमालयन डिस्टिलरीको सेयर मूल्य घटेको छ।

हिमालयनले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो। जुन ८ वर्षयताकै कम हो। जसका कारण सेयर मूल्य समेत प्रतिकित्ता ४८ रुपैयाँले घटेर १५९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कुनै समय ८ हजार रुपैयाँसम्म पुगेको सेयर मूल्य अहिले लगातार घटिरहेको छ। सोमबार कम्पनीको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो। 

गत वर्ष कम्पनीले ६० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेको थियो। 

गत वर्षको तुलनामा कम्पनीको लाभांश दर घटेको छ। यस्तै कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा समेत बोलाएको छ।  सभाका लागि हिमालयनले पुस १३ गते बुक क्लोज गर्ने भएको छ। पुस १२ गतेसम्मका कायम सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाउनेछन्।

हिमालयन डिष्टिलरी लिमिटेडको गतवर्ष बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको थियो। जसका कारण लाभांश घटेको हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.४३ प्रतिशत कम हो। गतवर्ष कम्पनीको खुद नाफा ३७.५४ प्रतिशत घटेर ६६ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्बभन्दा बढी खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ४४ पैसा घटेर २७ रुपेयाँ १७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।

२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ३०.३८ प्रतिशत घटेको हो।

कुन वर्ष कति लाभा‌श?

hdl 1233.JPG


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend