शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारको ओरालो यात्रा निरन्तर, विश्वस्त देखिएनन् लगानीकर्ता

सोमबार, मंसिर १८ २०८०
सेयर बजारको ओरालो यात्रा निरन्तर, विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- आइतबार ७.२९ अंकले घटेको बजार सोमबार पनि वृद्धितर्फ जान सकेन। राताम्य भइरहेको बजारमा उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी वृद्धितर्फ जाने आधारहरू रहेको बताइए पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।

सोमबार बजार ३.४२ अंकले घटेर १८४७.८१ बिन्दुमा झरेको छ। १२२ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ। १०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा उछाल देखिएर बाँकी सबै कारोबार ओरालोतिर लागेको सेयर बजारमा यो साता पनि दुई कारोबार राताम्य भएको छ। गएको साता पछिल्ला चार कारोबारमा नै ४९.४३ अंकले घटेको बजार यो साता पनि सम्हालिने अवस्थामा देखिएको छैन। बजारबाट विश्वास गुमाएका लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन्।  

सुधारको अपेक्षाविपरीत लामो समयदेखि बजार धरमर गरिरहेको छ। कारोबार पनि लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ। अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ।  

अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको छ। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।

सेयर बजारमा लामो समयदेखि कुनै दिन सामान्य वृद्धि र कुनै दिन ओरालो लाग्ने प्रक्रियाबीच उतारचढाव देखिँदै आएको छ। 


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend