शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर-२०२३’ को उपाधि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १५ २०८०
प्रभु बैंकलाई ‘बैंक अफ दि इयर-२०२३’ को उपाधि

‘दि बैंकर’ले विश्वभरका १ सय २० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंक मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ।

काठमाडौं- प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ। 

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो। सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो। 

‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ। विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो। 

‘दि बैंकर’ले विश्वभरका १ सय २० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंक मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ। बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका छन्। अवार्ड वितरण  समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो।

सम्मान प्राप्तीपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए। ‘वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हैसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ’ उनले भने।  

त्यस्तै अवार्ड वितरण समारोहपछि सीईओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताए। ‘यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु। आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ’ सीईओ शेरचनले भने। बैंकको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन्। 

२००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको यात्रालाई समयक्रमसँगै सृदृढ, विस्तारित तथा बिभिन्न बैंकलाई समाहित गर्दै आजको सफलतासम्म आइपुगेको जनाएको छ। प्रभु बैंक आज ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटीएम मार्फत देशव्यापी रुपमा ३१ लाखभन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ। 

२०७९ पुसमा सेञ्चुरी बैंक प्रभुमा विलय गराएर एकीकृत कारोबार सुरु गरेको हो। सेञ्चुरी सहित बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर ८ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन्। हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ।


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend