आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सुधारको अपेक्षाविपरीत सेयर बजार स्थिर, विश्वस्त छैनन् लगानीकर्ता

सोमबार, मंसिर ४ २०८०
सुधारको अपेक्षाविपरीत सेयर बजार स्थिर, विश्वस्त छैनन् लगानीकर्ता

सोमबार १.३९ अंकले बढेर बजार १८५३.४८ बिन्दुमा पुगेको छ। ११९ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- तिहार र छठ बिदापछि सेयर बजारको पहिलो कारोबार लगानीकर्ताको अपेक्षाअनुसार सुधारतर्फ जान सकेन। तिहारअघि पनि सुखद हुन नसकेको बजार अहिले घट्दो ब्याजदर र लाभांशको सकारात्मक प्रभाव पर्ने विश्लेषणविपरीत स्थिर देखिएको छ।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। सेयर कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी देखिँदैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

सोमबार १.३९ अंकले बढेर बजार १८५३.४८ बिन्दुमा पुगेको छ। ११९ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ। ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यसअघि दसैँ र तिहारबीचमा १० दिनमात्रै सेयर कारोबार भएको थियो। १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो भने बाँकी ६ दिनमा बजार ९२ अंकले घटेको थियो। यो अवधिमा बजार १८१७ बिन्दुसम्म झरेको थियो। अन्तिम कारोबारको दिन ११.८५ अंकले घटेर बजार १८५२.०८ बिन्दुमा पुगेको थियो।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ को यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा छ। 

अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : सोमबार, मंसिर ४ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend