बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ८ २०७८
images
images
रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु
images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।

images
images

ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण सुरु गरेको हो।

images
images

आयोजनाका साइट इञ्चार्ज आयुश शर्मा भट्टराईले कार्यक्षेत्रमा आएको सिभिल ठेकेदारले प्रारम्भिक चरणको काम सुरु गरेको बताए। 'आगामी १८ महिनामा सम्पन्न गर्ने कार्ययोजना अनुसार सिभिल ठेकेदार साइटमा परिचालन भएको छ', उनले भने, 'बाँध, पावरहाउस र पाइपलाइन निर्माणको काम एकैसाथ अघि बढाएका छौँ।'

images
images

नारच्याङको बेँशी गाउँदेखि लेकगाउँ हुँदै खोपारालेकको फेदीस्थित बाँध र रेलेखर्कस्थित विद्युतगृह निर्माणस्थलसम्म १७ किलोमिटर पहुँचमार्ग निर्माण सकिएको छ।

विसं २०७५ देखि सुरु भएको पहुँचमार्ग निर्माण गत महिना सकिएपछि सिभिल ठेकेदार परिचालन भएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए। 'छहरा, हकनी, गौडाका अक्करे पहाडमा एक्साभेटर र मजदूर परिचालन गरेर सडक बनाउन धेरै समय लाग्यो,' उनले भने, 'ग्याबिन र मेसिनरी पर्खाल लगाएर सडक स्तरोन्नति काम जारी राख्दै सिभिल निर्माण अघि बढाएका हौँ।'  

रेलेखोलाले पहुँचमार्ग बनाएपछि १५० घरधुरीको बसोबास रहेको नारच्याङको लेकगाउँ सडक सञ्जालसँग जोडिएको छ। यसअघि स्थानीयवासी, तत्कालीन जिविस र गाउँपालिकाले रु एक करोडभन्दा बढी खर्च गरेपनि बँेशीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो। 'हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनौँ', लेकगाउँका श्याम पुर्जाले भने, 'आयोजनाले सडक बनाएपछि स्थानीयवासीलाई पनि आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ।' 

बेँशीगाउँबाट लेकगाउँ पुग्न यसअघि एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमै पुग्न सकिने भएको छ। नारच्याङको बेँशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाको आउटलेटदेखि पहुँचमार्ग निर्माण सुरु गरेको थियो। खोपाराको फेदीमा पर्ने रेलेखर्क भन्ने ठाउँमा बाँध र घलेम्दी जलविद्युत् आयोजनाको इन्टेक नजिकै हरिस्वारामा विद्युत् गृह निर्माण गर्न ८० रोपनी जग्गा व्यवस्थापन भएको छ। सुरुङ र नहरको विकल्पमा बाँधदेखि चार किलोमिटर मुख्य पाइपलाइनबाट पानी ल्याइने भएको छ। १.६ किलोमिटर पेनस्टेक पाइप रहने भएको छ।

प्रतिमेगावाट २० करोड रुपैयाँको लागत अनुमान गरिएको रेलेखोलामा बैंकको लगानी पनि जुटेको छ। कूल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ। आयोजनाले उत्पादन गरेको विद्युत् ५ किलोमिटर ३३ केभी क्षमताको प्रशारण लाइन बनाएर दानास्थित २२० केभी क्षमताको सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्ने योजना छ। 

नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । निलगिरी हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारीमा छ। कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ। 

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ। हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ। रासस 


प्रकाशित : बुधबार, मंसिर ८ २०७८०७:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend