आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कर्जा लगानी नहुँदा प्रणालीमा ५ खर्ब १४ अर्ब लगानीयोग्य रकम थुप्रियो, अन्तरबैंक ब्याजदर घट्यो

शुक्रबार, कात्तिक २४ २०८०
कर्जा लगानी नहुँदा प्रणालीमा ५ खर्ब १४ अर्ब लगानीयोग्य रकम थुप्रियो, अन्तरबैंक ब्याजदर घट्यो

काठमाडौं- बैंकिङ प्रणालीमा करिब १२ अर्ब रुपैयाँले निक्षेप बढेको छ। गत सोमबारसम्म बैंकिङ प्रणालीमा ५९ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा मंगलबार एकैदिन १२ अर्ब रुपैयाँ निक्षेप थपिएको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा करिब ५९ खर्ब १८ अर्ब रुपैयाँ कुल निक्षेप रहेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप थपिए पनि कर्जा प्रवाह भने बढेको छैन। सोमबारसम्ममा प्रणालीमा कुल कर्जा प्रवाह ४९ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा मंगलबार १ अर्बले घटेर ४९ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको छ। 

हालसम्म बैंक तथा वित्तीय संस्थामा कायम रहेको उच्च ब्याजदरका कारण कर्जा प्रवाह बढ्न सकेको छैन। हाल बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी रे‍सियो) ८१.३१ प्रतिशतमा झरेको छ।

कर्जा निक्षेप अनुपातका आधारमा बैंक तथा वित्तीय संस्थाहरूसँग ५ खर्ब १५ अर्ब रुपैयाँ लगानीयोग्य रकम (तरलता) रहेको छ। कर्जा प्रवाह नबढेकाले बैंकहरूको अन्तर बैंक ब्याजदर करिब ४.५ प्रतिशतबाट घटेर २.९८ प्रतिशतमा झरेको छ। सोमबार अन्तरबैंक ब्याजदर ३.१३ प्रतिशत कायम भएको थियो। 

अन्तरबैंक ब्याजदर ४.५ प्रतिशतभन्दा तल आएमा रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा भएपनि राष्ट्र बैंकले तरलता प्रशोचन गरेको छैन। राष्ट्र बैंकले तरलता प्रशोचनका लागि रिभर्स रिपो जारी गर्नुको सट्टा पहिलो त्रैमासमा विकास ऋणपत्र र ट्रेजरी बिलमार्फत करिब ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। 


प्रकाशित : शुक्रबार, कात्तिक २४ २०८००७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend