आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लगातार तीन दिनको वृद्धिपछि पुन: घट्यो सेयर बजार

बिहीबार , कात्तिक २३ २०८०
लगातार तीन दिनको वृद्धिपछि पुन: घट्यो सेयर बजार

काठमाडौं- यो साता पछिल्ला तीन कारोबारमा लगातार बढेको सेयर बजार साताको अन्तिम कारोबारमा पुन: घटेको छ। लामो समयदेखि उही बिन्दु वरपर उतारचढावमा रहँदै ओरालोतिर देखिएको बजारमा सुधारको स्पष्ट आधार देखिएको छैन। यो साता समग्रमा बजारमा ४.३८ अंकको वृद्धि देखिन्छ।

बिहीबार ११.८५ अंकले घटेर बजार १८५२.०८ बिन्दुमा पुगेको छ। ५७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार २१.४६ अंकले घटेर सोमबार २१.३० अंकले बढेको थियो। यसैगरी मंगलबार पनि ११.२२ अंकले बढेर बजार १८५८.७६ बिन्दुमा पुगेको थियो। बुधबार ५.१७ अंकले बढेर बजार १८६३.९४ बिन्दुमा पुगेको थियो।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। लगातार कमजोर देखिएको सेयर बजारमा अहिले पनि उतारचढावपूर्ण अवस्थाकै निरन्तरता देखिन्छ।


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend