काठमाडौं- यो साता आइतबार घटेर सोमबार र मंगलबार लगातार दुईदिन दोहोरो अंकको वृद्धितर्फ देखिएको सेयर बजार बुधबार भने स्थिर देखिएको छ। लामो समयदेखि उही बिन्दु वरपर उतारचढावमा रहँदै ओरालोतिर देखिएको बजारमा सुधारको स्पष्ट आधार देखिएको छैन।
बुधबार ५.१७ अंकले बढेर बजार १८६३.९४ बिन्दुमा पुगेको छ। १२४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँको मात्र कारोबार भएको छ। ९३ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
यो साता आइतबार २१.४६ अंकले घटेर सोमबार २१.३० अंकले बढेको थियो। यसैगरी मंगलबार पनि ११.२२ अंकले बढेर बजार १८५८.७६ बिन्दुमा पुगेको थियो।
निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।
अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। बैंकमा तरलता सहज हुनुका साथै ब्याजदर घट्दो अवस्थामा भएकाले पनि सेयर बजार थप तल नजानेमा लगानीकर्ता आशावादी देखिन्छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।
लगातार कमजोर देखिएको सेयर बजारमा अहिले पनि उतारचढावपूर्ण अवस्थाकै निरन्तरता देखिए पनि झिनो वृद्धिले पनि सकारात्मक संकेत गरेको विश्लेषकहरू बताउँछन्।
सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।