आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप, कर्जा प्रवाह ठप्प हुँदा तरलता थुप्रियो

ब्याजदर अब निरन्तर घट्ने संकेत

बुधबार, कात्तिक २२ २०८०
बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप, कर्जा प्रवाह ठप्प हुँदा तरलता थुप्रियो

काठमाडौं- बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप पुगेको छ। एकैदिन ४ अर्ब निक्षेप थपिएसँगै प्रणालीमा ५९ खर्ब निक्षेप पुगेको हो। कात्तिक १८ गते प्रणालीमा ५८ खर्ब ९६ अर्ब निक्षेप थियो। त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेका छन्।

वाणिज्य बैंकहरुले मात्रै ५२ खर्ब १४ अर्ब निक्षेप पुग्दा ४४ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय निक्षेप निरन्तर बढ्न थालेपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८१.५३ प्रतिशत पुगेको छ। प्रणालीमा लगानीयोग्य रकम (तरलता) देखिएसँगै अन्तर बैंकदर ३.२२ प्रतिशत झरेको छ।

दसैँअघि करिब ३८ अर्बले बैंकिङ प्रणालीमा निक्षेप बढे पनि दसैँमा करिब ४७ अर्ब रुपैयाँ बाहिरिएको थियो। अहिले धमाधम प्रणालीमा निक्षेप फर्किएको छ।

गत असोज २९ गतेसम्म बैंकिङ प्रणालीमा ५९ खर्ब १५ अर्ब निक्षेप रहेकोमा कात्तिक ९ गतेसम्ममा ५८ खर्ब ६८ अर्ब कायम भएको थियो। दसैँमा बैंकिङ प्रणालीमा आएको निक्षेप दसैँको बिदा सकिएसँगै फर्किन सुरु गरेको थियो। दसैँको बिदा सकिएको भोलिपल्ट प्रणालीमा १० अर्ब निक्षेप थपिएको थियो।

असोज २९ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाले ५० खर्ब कर्जा प्रवाह गरेकोमा असोज ९ गतेसम्ममा ४९ खर्ब ७३ अर्बमा झरेको थियो। यस अवधिमा बैंकिङ प्रणालीमा २७ अर्ब कर्जा असुली भएको थियो।

असोज ९ मा थप २ अर्ब रुपैयाँले कर्जा प्रवाह घटेर ४९ खर्ब ७१ अर्ब रुपैयाँमा सिमित भएको थियो। अहिले कात्तिक १८ गतेसम्ममा ३ अर्ब मात्रै कर्जा प्रवाह भएर ४९ खर्ब ७७ अर्ब पुगेको छ। 

हाल बैंकिङ प्रणालीमा कर्जा निक्षेप अनुपात (सीडी) का आधारमा करिब ४ खर्ब ८५ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। 


प्रकाशित : बुधबार, कात्तिक २२ २०८००८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend