काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नाफामा नबिल र ग्लोबल आईएमई बैंकलाई पछि पारेको छ। पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्षको तुलनामा ३३ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ।
यही अवधिमा नबिल बैंकको नाफा ६.५ प्रतिशतले घटेर १ अर्ब ४७ करोड र ग्लोबल आईएमई बैंकले १ अर्ब २२ करोड रुपैयाँ मात्रै खुद नाफा गर्न सफल भएको छ।
खराब कर्जाका बाबजुद नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मर्जर तथा एक्विजिसनमार्फत प्राप्त गरेको स्प्रेड दरको सुविधाको लाभ उठाउँदै नाफा बढाएको छ।
यस अवधिमा बैंकको खराब कर्जा ४.८३ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा १.५७ प्रतिशत रहेको थियो। यस अवधिमा बैंकले 'लोन लस प्रोभिजनिङका लागि इम्प्रियरमेन्ट चार्ज' बापत ६४ करोड रुपैयाँ खर्च बुक गरेको छ। गत वर्षको यही अवधिमा बैंकले यस्तो खर्चका लागि २८ करोड १६ लाख रुपैयाँ खर्च बुक गरेको थियो।
यस अवधिमा बैंकको ब्याज आम्दानी करिब ८० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५ अर्ब ८६ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आर्थिक पहिलो त्रैमासमा ११ अर्ब ५० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। यस अवधिमा बैंकको ब्याज आम्दानीसँगै ब्याज खर्च पनि बढेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्याज खर्च ३ अर्ब ७३ करोड रहेकोमा यस अवधिमा ७ अर्ब ३४ करोड पुगेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा उल्लेख्यरुपमा बढेको छ। गत वर्षको बैंकको खुद ब्याज आम्दानी २ अर्ब १२ करोड रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको सञ्चालन नाफा करिब ९८ करोड रुपैयाँले बढेको छ। गत आर्थिक वर्ष यस अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा अहिले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकले ६५ करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ४८ करोड ८२ लाख रुपैयाँ कर तिरेको थियो।
यस अवधिमा बैंकको कष्ट अफ फण्ड गत वर्षको तुलनामा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको कष्ट अफ फण्ड ७.६८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७.८५ प्रतिशत कायम भएको छ। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८३.८२ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्ष पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा आधार दर पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको आधार दर ९.१८ प्रतिशत रहेकोमा अहिले बढेर ९.९९ प्रतिशत रहेको छ। असोज महिनामा भने बैंकको आधार दर ९.९५ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको स्प्रेडदर ४.६१ प्रतिशत रहेको छ।