आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

उतारचढावबीच न्यून बिन्दुमा सेयर बजार

बिहीबार , कात्तिक १६ २०८०
उतारचढावबीच न्यून बिन्दुमा सेयर बजार

बिहीबार १०.८६ अंकले घटेर बजार १८४७.७० बिन्दुमा झरेको छ। ४० कम्पनीको मात्रै सेयर मूल्य बढ्दा बजारमा ९६ करोड ४४ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- दसैँपछिको पहिलो कारोबारमै घटेको सेयर बजार यो साताको अन्तिम कारोबारमा समेत राताम्य भएर बन्द भएको छ। साताभर उतारचढावमा रहेको बजारमा सोमबारको कारोबार मात्रै सुखद् रह्यो।

आइतबार २८‍.१८ अंकले घटेको बजार सोमबार ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा पुगेको थियो। मंगलबारयता बजारले पुनः ओरालै यात्रा समात्यो। मंगलबार १४.२९ अंकले घटेको बजारमा बुधबार ५.८३ अंकको गिरावट आएको थियो। बिहीबार पनि कारोबार सुखद् रहन सकेन।

बिहीबार १०.८६ अंकले घटेर बजार १८४७.७० बिन्दुमा झरेको छ। ४० कम्पनीको मात्रै सेयर मूल्य बढ्दा बजारमा ९६ करोड ४४ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ। आज १९० कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको भने स्थिर रह्यो।

सेयर लगानीकर्ताले स्थायी सुधारको आधार नभेट्दा नेपाली सेयर बजार निरन्तर उतारचढावमा रहँदै आएको छ। नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेको छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : बिहीबार , कात्तिक १६ २०८००९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend