आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सोमबार ३ अंकले बढेको सेयर बजारमा मंगलबार १४ अंकको गिरावट, कारोबार रकम ५७ करोडमा सीमित

मंगलबार, कात्तिक १४ २०८०
सोमबार ३ अंकले बढेको सेयर बजारमा मंगलबार १४ अंकको गिरावट, कारोबार रकम ५७ करोडमा सीमित

मंगलबार ३८ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५७ करोड १४ लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- यो साताको दोस्रो कारोबारमा सामान्य बढेको सेयर बजार मंगलबार पुन: घटेको छ। आइतबार २८ अंकले घटेको बजार सोमबार ३ अंकले बढेको थियो। मंगलबार पुन: बजार ओरालो लागेको हो।

मंगलबार १४.२९ अंकले घटेर बजार १८६४.४० बिन्दुमा झरेको छ। ३८ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५७ करोड १४ लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ। आज एक सय ९३ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ। 

दसैँपछिको पहिलो कारोबारमा आइतबार २८‍‍.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा ओर्लिएको सेयर बजार सोमबार ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा पुगेको थियो। तर बजारको वृद्धि एक दिन पनि टिक्न सकेन। आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकम समेत घटेको छ। आइतबार बजारमा ७४ करोड २९ लाखको कारोबार भएको थियो भने सोमबार ६९ करोड ४२ लाख रूपैयाँको कारोबार भएको थियो। 

सेयर लगानीकर्ताले स्थायी सुधारको आधार नभेट्दा नेपाली सेयर बजार निरन्तर उतारचढावमा रहँदै आएको छ। नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेको छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend