आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दसैँपछिको पहिलो कारोबारमा घटेको सेयर बजार दोस्रो दिन सामान्य बढ्यो

सोमबार, कात्तिक १३ २०८०
दसैँपछिको पहिलो कारोबारमा घटेको सेयर बजार दोस्रो दिन सामान्य बढ्यो

काठमाडौं- दसैँपछिको पहिलो कारोबारमा २८ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा भने सामान्य बढेको छ। आइतबार २८‍‍.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा ओर्लिएको सेयर बजारमा सोमबार ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा पुगेको हो।

आज एक सय २८ कम्पनीको सेयर मूल्य बढ्दा ६९ करोड ४२ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ। आज ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको स्थिर रह्यो। 

११ दिनको बिदापछि खुलेको पहिलो कारोबारमा खरिदभन्दा बिक्रीमा चाप परेपछि भारी अंकको गिरावट आउँदा निराश भएका लगानीकर्तालाई आजको वृद्धिले केही राहत मिलेको छ। 

सोमबार सामान्य अंकले बजार बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। आइतबार २७ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ७४ करोड २९ लाखको कारोबार भएको थियो।

दसैँको अन्तिम साता भने सेयर बजार २९.२४ अंकले बढेको थियो। दसैँ बिदाअघिको अन्तिम कारोबार स्थिर देखिएको थियो। राष्ट्र बैंकले समेत खुकुलो नीति लिएकाले दसैँपछि बजार सकारात्मक हुने अनुमान गरिएको थियो। दसैँ बिदाको अघिल्लो दिन बजार १९०३.८४ बिन्दुमा रोकिएको थियो। ९७ करोड ६ लाख १२ हजार रुपैयाँको कारोबार भएको थियो। 

नियामकहरू सेयर बजारको सुधारका लागि निरन्तर प्रायसमा देखिए पनि बजार भने बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमामा गरेको संशोधनले बजारमा तत्काल सुधार नदेखिए पनि धितोपत्र बोर्डले कमिसन घटाएसँगै बजारमा उछाल देखिएको थियो।

धितोपत्र बोर्डले ब्रोकर कमिसन र नेप्से चार्ज १० प्रतिशतले घटाउने निर्णय गरिसकेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।


प्रकाशित : सोमबार, कात्तिक १३ २०८००९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend