आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अनुमतिको सहजतासँगै अस्पतालदेखि सिमेन्ट उद्योगसम्म प्रिमियम आइपीओको तयारीमा

बिहीबार , कात्तिक ९ २०८०
अनुमतिको सहजतासँगै अस्पतालदेखि सिमेन्ट उद्योगसम्म प्रिमियम आइपीओको तयारीमा

अब भने अस्पताल, मिडिया, टेलिकम, लगानी कम्पनी, फर्मास्यूटिकल्सलगायत विविध क्षेत्रका कम्पनीहरु सेयर बजारमा आउने इच्छा देखाएका छन्। विशेष गरी अंकित मूल्य भन्दा बढी मूल्यमा शेयर निष्काशन गर्न पाउने भएपछि वास्तविक क्षेत्रका कम्पनीहरु पब्लिकमा जान उत्साहित भएका छन्।

काठमाडौं- नेपाल धितोपत्र बोर्डले प्रिमियममा धमाधम आइपीओ स्वीकृत गर्न थालेपछि निजी क्षेत्रका कम्पनीहरू धमाधम आईपीओ ल्याउने तयारीमा जुटेका छन्। अस्पताल, होटल, सिमेन्ट उद्योगसहित अन्य पनि प्रिमियममा आईपीओको तयारीमा जुटेका छन्।  

बोर्डले सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडलाई १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट ४ सय देखि ६ सय रेञ्जभित्र रहेर पहिले योग्य संस्थागत लगानीकर्ता र पछि सर्वसाधारणलाई निष्काशन गर्ने गरी स्वीकृति प्रदान गरेको छ।

घोराही सिमेन्ट इन्डष्ट्रिज, भगवती हाइड्रोपावर डेभलपमेन्ट कं. लिमिटेड, मान्डु हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडलाई प्रिमियममा सेयर निष्काशन गर्न अनुमति दिइसकेको छ।  प्रिमियममा सेयर निष्काशन गर्न अनुमति दिएका सबै कम्पनीहरूले सर्वसाधारणमा सेयर जारी गरेर प्रिमियम मूल्यभन्दा पनि उच्च मूल्यमा दोस्रो बजारमा कारोबार समेत खुलिसकेको छ।

शिवम सिमेन्टको माउ कम्पनी शिवम होल्डिङ लिमिटेडले पनि प्रिमियममा सेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गरेको छ। कम्पनीले जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड १६ लाख कित्ता आइपीओ प्रिमियम मूल्यमा जारी गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत साधारण सभामा लगेको छ।

त्यस्तै शिवम,घोरोही र सोनापुर सिमेन्टले सर्वसाधारणलाई आइपीओ निष्काशन गरिसकेको छ भने सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरिसकेको अवस्थामा अर्को सिमेन्ट कम्पनी मारुती सिमेन्ट कम्पनीले पनि सर्वसाधारणमा शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा लगेको छ। बजारमा स्थापित सिमेन्ट कम्पनीहरुले धमाधम प्रिमियममा शेयर जारी गरेर बजारमा रकम उठाएपछि धेरै रियल सेक्टरका कम्पनीहरुले आईपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लगेका छन्। मारुती सिमेन्टले आगामी कात्तिक २१ गते डाकेको साधारण सभामा प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव रहेको छ।

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स)ले पनि प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गरेको छ। नर्भिक हस्पिटल, स्टार हस्पिटल, ह्याम्स हस्पिटलसँगै हिमालयन रिइन्स्योरेन्स कम्पनी, जगदम्बा स्टिल्स लिमिटेड, एसवाई प्यानेल नेपाल लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्कलगायतका वास्तविक क्षेत्रका कम्पनीहरुले पनि सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएका छन्। अधिकांश कम्पनीहरुले प्रिमियममै सेयर निष्काशन गर्ने गरी साधारण सभामा प्रस्ताव लगेका छन् भने कतिपयले फेस भ्यालुमै पनि आईपीओ निष्काशन गर्ने जनाएका छन्।

केही वर्ष अगाडिसम्म नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको मात्रै कम्पनीहरु सुचीकृत भएकाले अर्थतन्त्रको ऐनाको रुपमा प्रतिविम्वित हुन नसकेको बहस हुने गर्दथ्यो। अब भने अस्पताल, मिडिया, टेलिकम, लगानी कम्पनी, फर्मास्यूटिकल्सलगायत विविध क्षेत्रका कम्पनीहरु सेयर बजारमा आउने इच्छा देखाएका छन्। विशेष गरी अंकित मूल्य भन्दा बढी मूल्यमा शेयर निष्काशन गर्न पाउने भएपछि वास्तविक क्षेत्रका कम्पनीहरु पब्लिकमा जान उत्साहित भएका छन्।


प्रकाशित : बिहीबार , कात्तिक ९ २०८०००:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend