आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा दसैँ बिदाअघिको अन्तिम कारोबार स्थिर, साताभरको अवस्था सुखद

बिहीबार , कात्तिक २ २०८०
सेयर बजारमा दसैँ बिदाअघिको अन्तिम कारोबार स्थिर, साताभरको अवस्था सुखद

काठमाडौं- अघिल्लो साता ८२.३१ अंकले घटेको सेयर बजार यो साता २९.२४ अंकले बढेको छ। दसैँ बिदाअघिको अन्तिम कारोबार स्थिर देखिएको बजारमा समग्र साताभरको अवस्था भने सुखद देखिएको छ। 

बिहीबार ४.०५ अंकले घटेर बजार १९०३.८४ बिन्दुमा झरेको छ। ८० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९७ करोड ६ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ। १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

नियामकहरू सेयर बजारको सुधारका लागि निरन्तर प्रायसमा देखिन्छन्। नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमामा गरेको संशोधनले बजारमा तत्काल सुधार नदेखिए पनि धितोपत्र बोर्डले कमिसन घटाएसँगै बजारमा बुधबार उछाल देखिएको थियो।

धितोपत्र बोर्डले ब्रोकर कमिसन र नेप्से चार्ज १० प्रतिशतले घटाउने निर्णय गरेसँगै बुधबार ४३.२७ अंकले बढेको थियो। त्यसअघि यो साताको पहिलो कारोबारमा सोमबार २३.१६ अंकले घटेको थियो भने मंगलबार १३.१८ अंकले बढेको थियो। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

दसैँअघि यो साताको कारोबार सुखद देखिँदा दसैँपछिको बजारमा पनि लगानीकर्ताको विश्वास टिकाइराख्नुपर्ने विश्लेषकहरू बताउँछन्। तत्कालै सुधार नदेखिए पनि बजारले अब सुधारको गति लिने विश्वास संगठित लगानिकर्ताहरूको छ। यसअघि पनि उच्च बिन्दुमा पुगेर बियरिसमा झरेपछि बजारले नयाँ उचाइ लिन समय लागेको थियो।


प्रकाशित : बिहीबार , कात्तिक २ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend