आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कारोबार अवधिमै ब्रोकर कमिसन घटाउने निर्णयले सेयर बजार ४३ अंकले बढ्यो, बैंकको सेयरमा उभार

बुधबार, कात्तिक १ २०८०
कारोबार अवधिमै ब्रोकर कमिसन घटाउने निर्णयले सेयर बजार ४३ अंकले बढ्यो, बैंकको सेयरमा उभार

बुधबार भएको सेयर कारोबारमा एभरेष्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ४.३६ प्रतिशतले बढेको छ। आज कारोबार भएका कम्पनीमध्ये आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ।

काठमाडौं- धितोपत्र बोर्डको कमिसन घटाउने निर्णयले बुधबार सेयर बजार ४३.२७ अंकले बढेको छ।

मंगलबार १८६४ बिन्दुमा बन्द भएको सेयर बजार बुधबार बढेर १९०७.८९ अंकको बिन्दुमा पुगेको छ। आज नेप्सेमा कारोबार भएका २३६ कम्पनीमध्ये २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ।

बोर्डको आज बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन र नेप्से चार्ज १० प्रतिशतले घटाउने निर्णय गरेसँगै सेयर बजारमा उछाल देखिएको हो। ब्रोकर कमिसन घटाउने निर्णय गर्दै बोर्डले सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ।

अर्थ मन्त्रालयले स्वीकृति दिएपछि कमिसन घट्नेछ। मंगलबार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएपछि नेप्से करिब १० अंकले बढेको थियो।

बुधबार भएको सेयर कारोबारमा अधिकांश वाणिज्य बैंकहरुको सेयर मूल्य बढेको छ। नेप्सेमा सुचिकृत भएका १९ वाणिज्य बैंकमध्ये १८ बैंकको सेयर मूल्य बढेको छ भने १ वाणिज्य बैंकको मूल्य स्थिर रहेको छ।

बुधबार भएको सेयर कारोबारमा एभरेष्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ४.३६ प्रतिशतले बढेको छ। यस्तै कृषि विकास बैंकको ३.५९ प्रतिशत, ग्लोबल आईएमई बैंकको ३.३७ प्रतिशत, नविल बैंकको ३.०४ प्रतिशत,एनआईसी एसिया बैंकको ४.०२ प्रतिशत र सानिमा बैंकको ३.८२ प्रतिशतले सेयर मूल्य बढेको छ। स्टार्डर्ड चार्टर्ड बैंकको सेयर २.८७ प्रतिशतले बढेको छ।

यस्तै विकास बैंक समूहको सेयरमूल्य पनि करिब ९८ अंकले बढेको छ। होटल तथा पर्यटन उपसमूह १०२.५५ अंक, जीवन बीमा समूहको सेयर २२१ अंक र निर्जीवन बीमा समूहको सेयर १७४.८४ अंकले बढेको छ।

आज सेयर कारोबार भएका कम्पनीमध्ये आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ। यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर ९.९७ प्रतिशत, मिडसोलु हाइड्रोपावरको सेयर ९.३१ प्रतिशत, ज्योति विकास बैंकको ९.१९ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्थाको सेयर ९.१३ प्रतिशत र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर ८.३१ प्रतिशतले बढेको छ।


प्रकाशित : बुधबार, कात्तिक १ २०८००९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend