आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कात्तिकका लागि वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, एभरेष्टले सबैभन्दा धेरै घटाउँदा अन्यको कति?

मंगलबार, असोज ३० २०८०
कात्तिकका लागि वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, एभरेष्टले सबैभन्दा धेरै घटाउँदा अन्यको कति?

माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंकले भने असोज महिनाकै ब्याजदरलाई कात्तिकमा निरन्तरता दिएका छ्न्।

काठमाडौं- वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छ्न्। नयाँ ब्याजदर सूचनाअनुसार १४ वाणिज्य बैंकहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका हुन्।

३ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने २ बैंकहरुले ब्याजदर बढाएका छन्।

एभरेष्ट बैंकले असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.०५४ प्रतिशत तोकेकोमा कात्तिकका लागि ९.२२४ प्रतिशत कायम गरेको छ। यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.२२४ प्रतिशत तोकेको छ।

प्राइम कमर्सियल बैंकले पनि १.८३ प्रतिशत बिन्दुले ब्याजदर घटाउँदै साधारण मुद्दती निक्षेपको ब्याजदर १०.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ८.२५ प्रतिशत कायम गरेको छ।

यस्तै नबिल बैंकले पनि कात्तिकका लागि ब्याजदर घटाएको छ। नबिलले साधारण मुद्दती निक्षेपको ब्याजदर ११.०५४ प्रतिशतबाट घटाएर १० तोकेको छ। यस्तै यस बैंकले संस्थागत निक्षेपकर्तालाई ८ प्रतिशत ब्याज दिने भएको छ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट मेघाले पनि ब्याजदर घटाएको छ। असोजमा ११.३ प्रतिशत ब्याजदर तोकेको यस बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दतीतर्फ १०.१ र संस्थागत मुद्दतीको निक्षेपको ८.१ प्रतिशत तोकेको छ।

साधारण मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत रहेको प्रभु बैंकले कात्तिकका लागि ९.२२४ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ यस बैंकले कात्तिकमा ७.२२४ प्रतिशत ब्याजदर दिने भएको छ।

ब्याजदर घटाउने बैंकहरुमध्ये ग्लोबल आईएमई बैंकले साधारण मुद्दतीतर्फ १० र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ।

कात्तिक महिनाका लागि ब्याजदर घटाउँदै कृषि विकास बैंकले ९.७६ प्रतिशत, कुमारी बैंकले १०.०१ प्रतिशत, सिटिजन्स बैंकले ९.९६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत, नेपाल बैंक लिमिटेडले ९.२२४ प्रतिशत, हिमालयन बैंकले ११ प्रतिशत र एनआइसी एसिया बैंकले ११.००३ प्रतिशत कायम गरेका छ्न्।

असोज महिनाकै ब्याजदरलाई कात्तिकमा माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंकले निरन्तरता दिएका छ्न्।माछापुच्छ्रे बैंकले ९.९९ प्रतिशत, लक्ष्मी सनराइजले १० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ९.५ प्रतिशत साधारण मुद्दती निक्षेपको ब्याजलाई निरन्तरता दिएका हुन्।

यस्तै नेपाल एसबीआई बैंक र एनएमबि बैंकले भने कात्तिकका लागि ब्याजदर बढाएका छ्न्। एसबीआईले साधारण मुद्दती निक्षेपको ब्याजदर १०.७ प्रतिशत र एनमबि बैंकले ११.००३ प्रतिशत तोकेको छ।


प्रकाशित : मंगलबार, असोज ३० २०८००२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend