शुक्रबार, जेठ ४ गते २०८१    
images
images

वायुसेवा निगमको तीन किस्ता गरी २ करोड ह्याक भएको पुष्टि

images
सोमबार, असोज २९ २०८०
images
images
वायुसेवा निगमको तीन किस्ता गरी २ करोड ह्याक भएको पुष्टि

बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ई-मेलमार्फत आएको विवरणअनुसार कर्मचारीहरूले रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा नोक्सानी भोगेको हो। यति ठूलो रकम गुमेको विषयमा समेत कर्मचारी जोगाउने गरी काम भइरहेको छ।

images
images

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीले ठगीका सामान्य विषयसमेत नबुझ्दा निगमको दुई करोड रूपैयाँ ह्याकरले लिएको पुष्टि भएको छ। निगमको दुबई स्टेसनका कर्मचारीको लापरबाहीका कारण ह्याकरले करिब दुई करोड रूपैयाँ लगेको हो।

images
images
images

ह्याकरले निमगको दुबई स्टेसनको इमेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र यो खाता नम्बरमा रकम हाल्न भन्दै रकम ठगी गरेको हो। ह्याकरको खातामा दुबई स्टेसन प्रमुख अस्मिता सुवेदीले ३ पटकसम्म गरी दुई करोड रकम हालेकी हुन्।

images

पहिलो किस्ताबापतको रकम हालेपछि पनि स्टेसन प्रमुख सुवेदीले क्याटरिङ कम्पनीसँग रकम हालेर पाए/नपाएको कुनै चेकजाँच नगरी ३ किस्तासम्म गरी रकम हालेको पुष्टि भएको हो।

images
images

सुवेदीले अगस्ट १ मा १ लाख १५ हजार १ सय ५३ दुबई दिराम, अगस्ट ९ मा २ लाख २० हजार ६ सय २ दिराम र अगस्ट २५ मा २ लाख १ सय दिराम गरी तीन किस्तामा कुल ५ लाख ३५ हजार ९ सय १२ दिराम ह्याकरको खातामा रकम हालेकी  प्रमाणित भएको छ। प्रति १ दिराम बराबर ३६ रूपैयाँको हिसाबमा १ करोड ९२ लाख ९२ हजार रूपैयाँ ह्याक भएको हो।

images
images

रकम ह्याकरको खातामा गएको सुरुको दिनको हिसाबमा साढे २ महिनाभन्दा बढी भइसकेको छ। अन्तिम किस्ता हालेको भने ५० दिनभन्दा बढी भइसकेको छ। तर लापरबाही गर्ने कर्मचारीलाई अझैसम्म पनि स्टेसनको जिम्मेवारीमा नै राखिएको छ। लापरबाही गर्ने कर्मचारीलाई निलम्बन गर्नुपर्नेमा अधिकारी आफै ढाकछोप गर्न दुबई पुगेका छन्।

ह्याकरले रकम लगेको अगस्ट २७ मा मात्रै थाहा भएको थियो। ह्याकरको खातामा गएको रकमको अवस्था के छ अहिलेसम्म स्टेसलने कुनै जानकारी पाउन सकेको छैन। दुबईको बैंकले व्यक्तिको विवरण दिन नमिल्ने भनिरहेको छ। रकम तथा व्यक्तिको विवरण लिन अहिले दुबई पुलिसलाई त्यहाँको महान्याधिवक्ताले आदेश दिएको निगमका एक कर्मचारीले बताए।

रकम फिर्ता लिनका लागि ३६ लाख रूपैयाँभन्दा बढी खर्च गरेर परामर्शदाताको समेत नियुक्ति भएको छ। यता निगम केन्द्रीय कार्यालयले समेत यस विषयमा छानबिनका लागि अध्ययन समिति बनाएर अध्ययन गरिरहेको छ।

बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ई-मेलमार्फत आएको विवरणअनुसार कर्मचारीहरूले रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा नोक्सानी भोगेको हो।

गुमेको रकम फिर्ता आउने अवस्था देखिएको छैन। सानो रकमको आदानप्रदानमा समेत दोहोरो जाँच गरेर खाता नम्बर यकिन भएपछि मात्रै भुक्तानी गर्नुपर्ने विषय सामान्य आर्थिक चेतना हो। कर्मचारीले लेनदेनको सामान्य चेतनासमेत प्रयोग नगर्दा अन्तराष्ट्रिय लज्जाको विषय हुनेगरी निगम ठगिएको छ। निगमको दुबई स्टेसनले क्याटरिङ सेवा दिइरहेको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम झुक्यानमा पारी ह्याकरले उडाइदिएको हो।

निगमले 'इमिरेट्स इन फ्लाइट क्याटरिङ'बाट क्याटरिङको सेवा लिइरहेको छ। सेवा लिएबापत निगमले उक्त कम्पनीलाई किस्तामा रकम भुक्तानी गरिरहेको थियो। ह्याकर समूहले दुबई स्टेसनको ई-मेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खातामा रकम जम्मा गरिदिन भन्दै खाता विवरण पठाएको थियो। स्टेसनका कर्मचारीले उक्त ई-मेलबारे बुझबुझारत नगरी भनिएकै नयाँ खातामा रकम हालिदिँदा निगमको झन्डै दुई करोड रूपैयाँ गुमेको हो। 

उक्त खाताबाट ह्याकरले रकम झिकिसकेको छ। स्टेसनका कर्मचारीले रकम हालिदिएको खातामा अहिले एक रूपैयाँ पनि छैन। सामान्य विषयमा समेत दोहोरो जाँच नगरी यति ठूलो रकम गुमेको विषयमा कर्मचारी जोगाउने गरी काम भइरहेको छ।

कसैले ई-मेलमार्फत विवरण पठाएकै भरमा भेरिफाइ नगरी रकम हालिदिँदा निगम समस्यामा परिरहेको छ। 'कसैले बैंक खाता परिवर्तन भएको भनेर मेल पठाएपछि भुक्तानी गर्नुपर्ने कम्पनीसँग खाता भेरीफाइ गर्नुपर्नेमा स्टेसनका कर्मचारीले भेरिफाइ नै नगरी रकम हालिदिँदा रकम गुमेको हो', निगम स्रोतले भन्यो, 'यसमा संलग्न कर्मचारीहरू नै शतप्रतिशत दोषी छन्, उनीहरूलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्छ।'

यस्तो गम्भीर लापरबाही गर्ने कर्मचारीलाई निलम्बन गरी छानबिन गर्नुपर्नेमा अहिलेसम्म निगम व्यवस्थापनले कुनै काम गरेको छैन। अध्यक्ष अधिकारीले आफू निकट कर्मचारीलाई नै दुबई स्टेसन पठाएकाले पनि उनी घटना लुकाउने प्रयासमा लागिरहेका छन्। कर्मचारीको बचाउ गर्दै अध्यक्ष अधिकारीले उनीहरूमाथि सामान्य जाँचसमेत गरेका छैनन्। 


प्रकाशित : सोमबार, असोज २९ २०८००७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend