आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

लाभांश वितरणमा अदालतको फैसला कुर्दै नबिल र ग्लोबल आईएमई बैंक

शनिबार, असोज २७ २०८०
लाभांश वितरणमा अदालतको फैसला कुर्दै नबिल र ग्लोबल आईएमई बैंक

एफपीओबाट पुँजी वृद्धि गरी रिजर्भमा राख्दा कर नलाग्ने भए पनि लाभांश वितरण गर्दा भने कर लाग्ने महालेखाको ठहरका कारण नबिल र ग्लोबल आईएमई यतिबेला मुद्दाको फैसला कुरेरका बसिरहेका छन्।

काठमाडौं- वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८० मा ७० अर्ब १ करोड रूपैयाँ नाफा कमाएका थिए। धेरैले लाभांश धमाधम घोषणा गरेका छन्। केही लाभांश घोषणाको अन्तिम तयारीमा छन्। तर नाफाका हिसाबले पहिलो र दोस्रो हुने नबिल र ग्लोबल आईएमइ बैंक भने पर्ख र हेरको अवस्थामा रहेका छन्। 

सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमा बैंक तथा वित्तीय संस्थाहरूको फर्दर पब्लिक अफरिङ (एफपीओ) र गाभ्ने तथा गाभिने प्रकृयाअन्तर्गत सामूहिक सौदाबाजी (वार्गेन पर्चेज गेन) मा कर लाग्ने व्यवस्था गरेपछि बैंकर्स यतिबेला उक्त कर खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा लडिरहेका छन्।

महालेखा परीक्षक कार्यालयका पछिल्ला प्रतिवेदनहरूले बैंक तथा वित्तीय संस्थाहरूले एफपीओमा नाफा नोक्सान खातामा आय लेखांकन नै नगरी सोझै लाभांश वितरण गरेकाले आयकर छली भएको आरोप लगाउँदै आएको छ। एफपीओबाट पुँजी वृद्धि गरी रिजर्भमा राख्दा कर नलाग्ने भए पनि लाभांश वितरण गर्दा भने कर लाग्ने महालेखाको ठहर छ। सोही कारण नबिल र ग्लोबल आईएमई यतिबेला मुद्दाको फैसला कुरेरका बसिरहेका छन्।

सबैभन्दा धेरै खुद नाफा नबिलले गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ७६.७० प्रतिशतले नाफा बढाएको यस बैंकले ७ अर्ब ५२ करोड रूपैयाँ खुद नाफा गरेको छ।

बैंकको नाफासँगै वितरणयोग्य मुनाफामा पनि सुधार देखिएको छ। गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रूपैयाँ रहेको छ। ४६ अर्ब ३८ करोड रूपैयाँ ब्याज आम्दानी गरेको बैंकले २८ अर्ब ३९ करोड रूपैयाँ ब्याज खर्च गरी १७ अर्ब ९८ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

अघिल्लो आर्थिक वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ। ११ अर्ब १ करोड रूपैयाँ संचालन नाफा कमाएको बैंकले ३ अर्ब २५ करोड रूपैयाँ सरकारलाई कर तिरेको छ। गत वर्षको मुनाफाबाट १४.४६ प्रतिशत मात्रै लाभांश वितरण गर्ने क्षमता रहेको देखिन्छ।

यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड रूपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्ष ४ अर्ब ९५ करोड खुदा नाफा कमाएको बैंकको नाफा ४६‍‍.२६ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रूपैयाँ कायम भएको छ। यसअनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। 


प्रकाशित : शनिबार, असोज २७ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend