आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर कर्जाको सीमा बढ्दा फाइदा पुग्ने विश्लेषणविपरित साताभर कमजोर सेयर बजार, ८२ अंकले घट्यो

बिहीबार , असोज २५ २०८०
सेयर कर्जाको सीमा बढ्दा फाइदा पुग्ने विश्लेषणविपरित साताभर कमजोर सेयर बजार, ८२ अंकले घट्यो

काठमाडौं- यो साता लगातार तीन कारोबारमा ओरालो लाग्दै चौथो कारोबारमा थामिएको सेयर बजार पाँचौँ दिन पनि ओरालोतर्फ लागेको छ। सेयर कर्जाको सीमा बढ्दा फाइदा पुग्ने र वृद्धितर्फ लाग्ने विश्लेषणविपरित बजार लगातार कमजोर देखिएको हो। समग्रमा यो साता बजार ८२.३१ अंकले घटेको छ। 

नेपाल राष्ट्र बैंकले सेयर धितोमा राखेर दिइने मार्जिन कर्जाको अधिकतम सीमा संशोधन गरेपछि त्यसले बजारलाई फाइदा पुग्ने विश्लेषणहरू भइरहेका थिए। तर सेयर धितो कर्जाकै कारण बजारलाई असर गरिरहेको अनुमानबीच अहिलेको परिस्थिति भिन्न देखिएको छ।

गएको शुक्रबार राष्ट्र बैंकले सेयर कर्जाको सीमामा यसअघिको १२ करोडको सीमा हटाउँदै व्यक्तिगततर्फ १५ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा तोकेको थियो। सेयर कर्जाको सीमा बढाउन वा हटाउन आइरहेको दबाबबीच गरिएको संशोधनले पनि बजारमा लगानीकर्ताहरू विश्वस्त देखिएका छैनन्। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति र तरलता अभावसँगै बजार गिरावटतिर लाग्यो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। उत्साह देखिएको बजार घट्नुमा धेरै कारण भएपनि आम लगानिकर्ताले सेयर कर्जा सीमालाई नै कारण मानिरहेका थिए।

यो साताको अन्तिम कारोबारमा बिहीबार २०.१६ अंकले घटेर बजार १८७४.६० बिन्दुमा झरेको छ। २१० कम्पनीको सेयर मूल्य घटेको बजारमा १ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ। २३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावमा रहिरहेको बजार यो साता सुरुका तीन कारोबारमा नै ओरालोतर्फ लागेको थियो। आइतबार ३५.६७ अंकले घटेको बजार सोमबार १२.५८ अंकले घटेर थियो। मंगलबार १९.०६ अंकले घटेर बजार १८८९.५९ बिन्दुमा पुगेको थियो। बुधबार ५.१६ अंकको सामान्य वृद्धि देखिएको बजार बिहीबार पुन: घटेको हो। 

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

सेयर कर्जाको सीमामा गरिएको संशोधनपछि तत्कालै सुधार नदेखिए पनि बजारले अब सुधारको गति लिने विश्वास संगठित लगानिकर्ताहरूको छ। यसअघि पनि उच्च बिन्दुमा पुगेर बियरिसमा झरेपछि बजारले नयाँ उचाइ लिन समय लागेको थियो।


प्रकाशित : बिहीबार , असोज २५ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend