काठमाडौं- यो साता लगातार तेस्रो कारोबारमा पनि सेयर बजार ओरालो लागेको छ। सेयर कर्जाको सीमा बढ्दा फाइदा पुग्ने र वृद्धितर्फ लाग्ने विश्लेषणविपरित बजार लगातार घटेको हो।
नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।
मंगलबार १९.०६ अंकले घटेर बजार १८८९.५९ बिन्दुमा पुगेको छ। ३१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। १ सय ९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
लामो समयदेखि उतारचढावमा रहिरहेको बजार यो साता तीन कारोबारमा नै ओरालोतर्फ लागेको हो। आइतबार ३५.६७ अंकले घटेको बजार सोमबार १२.५८ अंकले घटेर थियो।
गएको शुक्रबार राष्ट्र बैंकले सेयर कर्जाको सीमामा यसअघिको १२ करोडको सीमा हटाउँदै व्यक्तिगततर्फ १५ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा तोकेको थियो। सेयर कर्जाको सीमा बढाउन वा हटाउन आइरहेको दबाबबीच गरिएको संशोधनले पनि बजारमा लगानीकर्ताहरू विश्वस्त देखिएका छैनन्।