काठमाडौं- बुढानीलकण्ठ हेरिटेज होटलको भवन निर्माणको सबै काम सम्पन्न भएपछि वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि भन्दै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ। होटलको तीनवटा भवनको ४० कोठामा ४९ बेड निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन २०७६ असोजमा स्वीकृत भएको थियो तर होटलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनभन्दा बाहिर गएर संरचना बनाएको छ।
प्रस्तावित तीनवटा भवनमध्ये दुईवटा भवनहरू (पार्किङ र ध्यान केन्द्र) प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार नै निर्माण गरेपनि मुख्य भवन भने प्रतिवेदनभन्दा बाहिर गएर निर्माण गरेको राय सुझावका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा नै उल्लेख छ।
प्रारम्भिक प्रतिवेदनभन्दा बाहिर गएर भवन बनाएपछि होटलले वातावरण संरक्षण ऐन, २०७६ को दफा ८ विपरित कार्य भएको ठहर भएको थियो। प्रतिवेदनविपरित संरचना बनाएको होटलले सोही ऐनको दफा ३५ को उपदफा १ बमोजिम वन तथा वातावरण मन्त्रालयले तिराएको जरिबानासमेत तिरेको छ।
होटलले प्रारम्भिक प्रतिवेदनमा मुख्य भवनको भुँइतलासमेत गरी चार तला निर्माण गर्ने उल्लेख गरेको थियो तर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनबिना नै प्रारम्भिक वातावरणीय परीक्षणविपरित मुख्य भवनमा भुँइ तलासहित ८ तला बनाएको थियो। शिवपुरी राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सुरुमै ठूलो संरचना बनाउँदा विवाद हुने भएपछि प्रारम्भिक रिपोर्ट बनाउँदै संरचना बनाएको हो।
एकसय कोठाभन्दा माथिको होटल बनाउँदा सुरुमै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत गर्नुपर्ने व्यवस्था छल्नका लागि होटल निर्माण गर्नहरूले प्रारम्भिक प्रतिवेदनमा ४० कोठा तथा ४९ शय्या उल्लेख गरेर होटलको संरचना निर्माण गरेका थिए। रिपोर्ट विपरित संरचना बनाएपछि नै जरिबाना तिरेर वातावरणीय प्रभाव मूल्यांकन गरिएको हो। होटलले २०७९ असार १९ मा नै जरिबाना बुझाए पनि कति बुझाएको हो भन्ने राय सुझावका लागि सार्वजनिक रिपोर्टमा उल्लेख छैन।
राय सुझावका लागि सार्वजनिक रिपोर्टमा नै होटलको भवनको सबै संरचना तयार भइसकेको र आन्तरिक सजावटको काम भइरहेको उल्लेख छ। होटलमा २ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ। होटलमा १ सय २ कोठा तथा १ सय ९० वटा बेड रहेका छन्। होटलको प्रतिफल प्राप्त हुन लाग्ने समय १० देखि १५ वर्ष रहेको छ।
होटल १२ रोपनी ४ आना १ पैसामा निर्माण भएको छ। होटलको भवनले कुल जग्गाको २९.५४ प्रतिशत क्षेत्र ओगटेको रिपोर्टमा उल्लेख छ। होटल रहेको जग्गामा २० प्रतिशत हरियाली र ५०.४६ प्रतिशत खुला क्षेत्र रहेको छ। होटल बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को तौलुङमा रहेको छ।