आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अपर तामाकोशीको हकप्रदमा सेयरबापतको ७८ प्रतिशत रकम संकलन

बिहीबार , असोज १८ २०८०
अपर तामाकोशीको हकप्रदमा सेयरबापतको ७८ प्रतिशत रकम संकलन

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट पाँच अर्ब १९ करोड ९१ लाख रूपैयाँ चुक्ता हुनुपर्ने छ। कम्पनीका अनुसार हालसम्म सर्वसाधारण सेयरधनीबा दुई अर्ब ८३ करोड रूपैयाँ अर्थात् ५५ प्रतिशत रकम संकलन भएको छ।

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ।

दोलखामा सञ्चालित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई एक कित्ता सेयर बराबर एक कित्ताको प्रतिसेयर एक सय अंकित दरको हकप्रद सेयर निष्कासन गरिरहेको छ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन्। संस्थापकहरुले पाँच अर्ब ४० करोड ९ लाख रूपैयाँ चुक्ता गरेका हुन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट पाँच अर्ब १९ करोड ९१ लाख रूपैयाँ चुक्ता हुनुपर्ने छ। कम्पनीका अनुसार हालसम्म सर्वसाधारण सेयरधनीबा दुई अर्ब ८३ करोड रूपैयाँ अर्थात् ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए।

'संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइसकेको छ, सेयर भर्ने स्थानमा व्यापक भिडभाड देखिएको छ,' गौतमले भने, 'बाँकी ६ दिनमा अपेक्षाकृतरुपमै रकम संकलन हुने देखिएको छ।' हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म छ।

१० अर्ब ५९ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुईरदुई प्रतिशत संस्थापक सेयर छ। सेयर स्वामित्वअनुसार प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख र २१ करोड १८ लाख रूपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन्।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७ दशमलव २८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको दुई दशमलव ८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको आठ दशमलव ८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ। सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रूपैयाँ चुक्ता हुनुपर्ने छ। 

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले एक अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार रूपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नुपर्ने छ। हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रूपैयाँ पुग्ने छ। रासस


प्रकाशित : बिहीबार , असोज १८ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend