आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा साताभर उतारचढावबीच ४७ अंकको गिरावट, विश्वस्त छैनन् लगानीकर्ता

बिहीबार , असोज १८ २०८०
सेयर बजारमा साताभर उतारचढावबीच ४७ अंकको गिरावट, विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौं- वृद्धितर्फ लाग्ने आशाविपरित सेयर बजार निरन्तर उही बिन्दु वरपर देखिएको छ। विगत लामो समयदेखि उतारचढावपूर्ण अवस्थामा रहेको बजार अपेक्षाकृत सुधारतर्फ जान सकिरहेको छैन। यो साता समग्रमा बजारमा ४७.३७ अंकको गिरावट देखिएको छ। 

साताको अन्तिम कारोबारमा बिहीबार ११.०४ अंकले घटेर बजार १९५६.९२ बिन्दुमा पुगेको छ। ४८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब १ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार ३३.२० अंकले घटेको बजार सोमबार ५.१९ अंकले बढेको थियो। मंगलबार १७.५६ अंकले घटेको बजार बुधबार ९.२४ अंकले बढेर १९६७.९७ बिन्दुमा पुगेको थियो। 

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।

नियामक निकायहरू पनि सेयर बजारमा सुधार ल्याउन सकिने विषयमा निरन्तर छलफलमा छन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , असोज १८ २०८००९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend