काठमाडौं- व्यापारीले बजारमा चिनी अभाव देखाउँदै मूल्य बढाइरहेका छन्। कृत्रिम अभाव खडा भइरहेको बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा चिनी उद्योगमा १ लाख ८८ हजार क्विन्टल चिनी फेला परेको जनाएको छ। विभाग स्रोतका अनुसार एभरेष्ट र हिमाल सुगर मिलसँग ठूलो परिमाणमा चिनी रहेको फेला परेको हो।
चिनी फेला परेपछि विभागले २ वटा उद्योगसँग बयान लिएको थियो। उद्योगमा रहेको चिनी कोक उत्पादन कम्पनी बोटलर्स नेपालले पहिले नै एडभान्स दिएर राखेको चिनी भएको उद्योगीको तर्क छ।
विभाग स्रोत भने कोक उत्पादन कम्पनी र उद्योगको मिलेमतोमा चिनी राखिएको बताउँछ। चार्डपर्वमा बजारमा चिनी अभाव देखिएको र मूल्य अस्वाभाविक बढेका कारण बजारमा चिनी पठाउन सहयोग गर्न आग्रह विभागले गरेको थियो। तर उद्योग र कोक उत्पादन कम्पनीले बजार अभाव हटाउन सहयोग नगरेको विभाग स्रोतको दाबी छ।
यस विषयमा विभागले अब सरकारले नै उद्योगमा रहेको चिनी हस्तक्षेप गरेर बजारमा पठाउने कि के गर्ने भन्ने विषयमा माथिल्लो निकायसँग छलफल गरिरहेको स्रोतको दाबी छ।
'चार्डपर्वका लागि चाहिने परिमाणका कम्पनीले लगभग पेय पदार्थ उत्पादन गरिसकेको छ। बजारमा पनि उपभोक्ताले चिनी पाउन मुस्किल भएको छ,' विभाग स्रोतले भन्यो, 'दुईपक्षीय सहमतिमा नै केही चिनी कोक उत्पादन कम्पनीलाई दिएर अरु चिनी बजारमा ल्याउन सक्ने बजार अभाव केही कम हुन्छ।'
विभागले केही दिन अगाडिमात्रै अनुगमनका क्रममा फेला पारेको ७० हजार केजी चिनीसमेत साल्ट ट्रेडिङमार्फत बिक्री गर्ने निर्णय गरिसकेको छ। बजारमा अहिले चिनीको मूल्य बढेर प्रतिकिलो १ सय ३० रूपैयाँ माथि पुगेको छ।
चिनीको अभाव भएपछि विभागले उद्योगको चिनी बजारमा पठाउने तयारी गरेको छ। कुनै पनि उद्योगको चिनी सकेसम्म साल्ट्र ट्रेडिङमार्फत् बजारमा पठाउने तयारीस्वरुप विभागले यस्तो छलफल गरेको हो। उद्योगमा रहेको चिनी व्यवसायीहरूले लिएमा कालोबजारी हुने आशंकामा सरकारी कम्पनीमार्फत नै बजारमा पठाउने तयारी सरकारले गरेको छ।