मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नारायणी डेभलपमेन्ट र पोखरा फाइनान्समाथि कारबाहीको तयारी, सिन्धु र सप्तकोशीमाथि पनि निगरानी

बुधबार, पुस २४ २०८१
नारायणी डेभलपमेन्ट र पोखरा फाइनान्समाथि कारबाहीको तयारी, सिन्धु र सप्तकोशीमाथि पनि निगरानी

नारायणी डेभलपमेन्ट बैंकलाई यसअघि नै एकपटक समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले पुन: सञ्चालनका लागि अनुमति दिएको थियो।

काठमाडौं- वित्तीय अवस्था बिग्रिएका नारायणी डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सलाई कारबाही गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ। 

नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरिरहेको छ। पछिल्लो समय नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था थप बिग्रिएपछि दोस्रो चरणको शीघ्र सुधारात्मक कारबाही गर्ने वा समस्याग्रस्त घोषणा गर्ने भन्नेबारे राष्ट्र बैंकका अधिकारीहरूले छलफल गरिरहेका छन्। 

नारायणी डेभलपमेन्ट बैंकले अवस्था राम्रो देखाउन नयाँ भवनमा कार्यालय सार्ने, नयाँ सञ्चालक नियुक्तिदेखि संस्थापक सेयर बिक्री गर्नेसम्मको गतिविधि गरिरहेको छ। तर यस बैंकको वित्तीय सूचक प्रतिकूल बन्दै गएका छन्। 

नारायणी डेभलपमेन्ट बैंकलाई यसअघि नै एकपटक समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले पुन: सञ्चालनका लागि अनुमति दिएको थियो। सञ्चालनका लागि अनुमति दिएपनि अपेक्षाकृत सुधार गर्न नसकेपछि राष्ट्र बैंकले गत असारबाट यस बैंकमाथि शीघ्र सुधारात्मक कारबाही थालेको हो। नारायणी डेभेलपमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा करिब ३५ प्रतिशत पुगेको छ। 

नारायणी डेभलपमेन्ट बैंक करिब ४ करोड ८५ लाख रुपैयाँ बराबरको वितरणयोग्य घाटामा रहेको छ। चितवनलाई आधार बनाएर सञ्चालन भइरहेको यस बैंकमाथि राष्ट्र बैंकले दोस्रो चरणको सुधारात्मक कारबाही गर्दै निक्षेप संकलनमा रोक लगाउने सम्भावना बढेको छ। गभर्नर तयार भए यस बैंकलाई सिधै समस्याग्रस्त घोषणा गर्ने सम्भावना पनि रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। 

नारायणी डेभलपमेन्ट बैंकसँगै पोखरा फाइनान्समाथि पनि राष्ट्र बैंक निर्मम बन्ने सम्भावना देखिएको छ। पोखरा फाइनान्सको खराब कर्जा बढ्दै गएको र निक्षेपकर्ताको रकम जोखिममा पर्ने सम्भावना बढेकाले कारबाही गर्ने विषयमा राष्ट्र बैंकमा छलफल चलिरहेको राष्ट्र बैंक स्रोतले बताएको छ। 

'केही विकास बैंक र वित्तीय कम्पनीहरूको स्वास्थ्य स्थिति निकै खराब छ। विशेषगरी नारायणी डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सको अवस्था नाजुक बन्दै गइरहेको छ। यी संस्थाहरूमाथि कस्तो कारबाही गर्ने भन्ने विषयमा राष्ट्र बैंकभित्र छलफल चलिरहेको छ। छिटै नै निर्णय हुने सम्भावना छ', स्रोतले भन्यो। 

नारायणी डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सबाहेक राष्ट्र बैंकले सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमाथि पनि नजर तीब्र पारेको छ।

एक विकास बैंकको सञ्चालक समितिले वाणिज्य बैंकमा रहेको आफ्नो खाताबाट रकम झिक्न लाग्दासमेत राष्ट्र बैंकले रोकेको स्रोतको दाबी छ।

यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक पनि उच्च घाटामा रहेको छ भने यसको खराब कर्जा बढेर १४ प्रतिशतभन्दा माथि पुगिसकेको छ।

विराटनगरमा केन्द्रीय कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकले विराटनगर, मोरङ, इटहरी र झापालाई आफ्नो बैंकिङ गतिविधिको मुख्य थलो बनाएको छ। यस बैंकको प्रदेश १ मा ३७ वटा शाखा रहेको बताइको छ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले भने सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरिहाल्नुपर्ने गरी कुनै पनि समस्या नरहेपनि आफ्नो सुक्ष्म निगरानीभित्र रहेको बताएको छ।

'सिन्धु र सप्तकोशीलाई कारबाही गरिहाल्नुपर्ने गरी अहिलेलाई कुनै पनि समस्या छैन। यी संस्थाहरूको वित्तीय विवरण खासै राम्रो त छैनन् तर राष्ट्र बैंकले शीघ्र सुधारात्मक वा अन्य कुनै कारबाही गरिहाल्नुपर्ने अवस्था चाहिँ होइन। वाणिज्य बैंकमा त समस्या छन् भने विकास बैंकमा समस्या छैन भन्न मिल्दैन। यद्यपी हामीले वित्तीय विवरणमा समस्या देखिएका विकास बैंकहरूमाथि निगरानी बढाएको अवस्था हो', विभागका एक अधिकारीले बताए।


प्रकाशित : बुधबार, पुस २४ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend