आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

८ वर्षे विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

बुधबार, असोज १७ २०८०
८ वर्षे विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउने भएको छ। असोज १८ गते ३ बजेसम्म बोलकबोलमार्फत ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।

उक्त ऋणपत्र असोज १९  गते निष्कासन हुने राष्ट्र बैंकले जनाएको छ। यो विकास ऋणपत्र ८ वर्ष अर्थात् २०८८ असोज १९ गते परिपक्व हुनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने राष्ट्र बैंकले जनाएको छ।

यसअघि राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको ८ वर्ष अवधिको विकास ऋणपत्र जारी गरी आन्तरिक ऋण उठाइसकेको छ। ७ प्रतिशत ब्याजदरमा उक्त विकास ऋणपत्र बिक्री गरिएको हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ७२ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ। जसको औसत ब्याजदर ६.९७ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन गर्दै पहिलो त्रैमासमा ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा कार्यतालिका संशोधनमार्फत थप २५ अर्ब रुपैयाँ ८ वर्ष अवधिको विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ।

पहिलो त्रैमासमा २५ अर्ब बढी आन्तरिक ऋण उठाउने लक्ष्य राखेसँगै दोस्रो तैमासमा २५ अर्बले नै लक्ष्य घटाइएको छ। सुरुमा दोस्रो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा संशोधित कार्यतालिकामा ३० अर्ब उठाउने भनिएको छ।


प्रकाशित : बुधबार, असोज १७ २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend