काठमाडौं- वृद्धितर्फ लाग्ने आशाविपरित निरन्तर उही बिन्दु वरपर देखिएको सेयर बजार यो साता पहिलो कारोबारमा घटेको छ। गएको साताको उतारचढावपूर्ण अवस्था निरन्तरतातर्फ संकेत गरेको बजार अपेक्षाकृत सुधारतर्फ जान सकिरहेको छैन।
आइतबार ३३.२० अंकले घटेर बजार १९७१.१० बिन्दुमा झरेको छ। १० कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ८३ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। २२० कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।
स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न सकेका छैन। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।
साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले चलखेल गरिरहँदा उतारचढावको स्थिति देखिएको विश्लेषकहरू बताउँछन्। बजार निरन्तर कमजोर बनिरहँदा बीचमा कुनै दिनको अप्रत्याशित वृद्धि त्यसैको उपज भएको उनीहरूको भनाइ छ।