काठमाडौं- दसैँ नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्ग वस्तुको मूल्य आकासिँदो छ। व्यापारीले कतिपय दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव देखाउँदै मूल्य बढाएका छन्।
केही दिनअगाडिबाट व्यापारीले अभाव देखाउँदै चिनीको मूल्य १ सय रुपैयाँबाट बढाएर १ सय ४० रुपैयाँसम्म पुर्याएका थिए। फेरि होलसेल तथा डिलर व्यापारीले बजारमा चिनी नै बिक्री गर्न छाडेका छन्। होलसेलमा चिनी खरिद गर्न पुगेका एक व्यवसायीले शुक्रबार बिहान कालिमाटी/त्रिपुरेश्वर क्षेत्रको कुनै पनि होलसेलमा चिनी नपाएको बताए।
व्यापारीले पुन: चिनीको मूल्य बढाउन बजारमा अभाव सिर्जना गरिरहेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन अगाडिमात्रै त्रिपुरेश्वर क्षेत्रको एउटा चिनी गोदाममा छापा मारेर १४ सय बोरा चिनी नियन्त्रणका लिएको थियो। अहिले नियमित बजार अनुगमन गरिरहेको विभागमा महानिर्देशक तिर्थराज चिलुवाल बताउँछन्। अनुगमनका क्रममा कैफियत गर्नेलाई विभागले तुरुन्त कारबाही गरेकोसमेत उनको भनाइ छ।
बजारमा अहिले मुख्यत: चामल, दाल र मसलाजन्य दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक बढेको भन्दै विभागले भन्सार विभागबाट आयात भएको तथ्यांक तथा मूल्यमा अध्ययन गरिरहेको उनको भनाइ छ। विभागले अध्ययन अन्तिम चरणमा पुर्याइसकेको र अब विशेष अनुगमन हुने उनको भनाइ छ। चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव देखाउँदै महँगोमा बिक्री गर्नेलाई विभागले फेला पारेको अवस्थामा कारबाहीका लागि कुनै कमी नगर्ने चिलुवाल बताउँछन्।
व्यापारीले विभिन्न बहानमा अहिले चामल प्रतिबोरा दुई सय रुपैयाँसम्म मूल्य बढाइसकेका छन्। साथै दालको मूल्य पनि प्रतिकिलो २० रुपैयाँभन्दा बढी बढाइसकेका छन्। एक्कासी दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि विभागले भन्सारबाट आयात भएको परिमाण तथा मूल्य र आन्तरिक उतपादनको विषयमा अध्ययन गरिरहेको उनले बताए।
सबैभन्दा बढी मूल्य बढेको वस्तु हो मसला। मसलाजन्य वस्तुमा पनि जिराको मूल्य निरन्तर बढिरहेको छ। विगत ४/५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँभन्दा माथि पुगेको थिएन। तर गएको दसैँ तिहारपछि भने विस्तारै जिराको मूल्य बढ्न थालेको हो। खुद्रा बजारमा त जिरा प्रतिकिलो १३ सय ५० सय रूपैयाँसम्म पुगेको नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भट्ट श्रेष्ठ बताउँछन्।
जिराको मूल्य बढेसँगै माग पनि केही घटेको छ। विगतका वर्षहरूमा भन्दा चालु आवमा जिरा आयात कम भएको छ। पहिले जिराको बढीजसो व्यापार दसैँ तथा तिहार आसपासमा नै हुने गर्दथ्यो। अहिले जिराको माग सधैँजसो उस्तै नै छ। जिराको माग कोराना महामारीपछि झन् बढेको पाइन्छ। कोरोना महामारीमा विशेषगरी जिरा-पानी खाने प्रचलन बढेको थियो। तर पछिल्लो समय भने मूल्य बढ्दा माग केही घटेको हो।
नेपालमा खपत हुने जिरामध्ये केहीमात्र यहाँ उत्पादन हुन्छ। जिराको उत्पादन पनि नेपालमा जीवन निर्वाहमुखी नै रहेको देखिन्छ। व्यावसायिक रुपमा जिरा खेती हुन सकेको छैन। सहरी क्षेत्रमा हुने मागको ९० प्रतिशतभन्दा बढी जिरा विदेशबाट नै आयात हुन्छ। त्यसमा पनि धेरैजसो भारतबाट नै आयात भइरहेको छ।
पछिल्लो एक वर्षदेखि भारतमा नै जिराको उत्पादनमा कमी आएको छ। भारतले सार्क राष्ट्रबाहेकका देशमा जिरा निर्यातमा लगाएको प्रतिबन्ध पनि अहिले खुला गरिसकेको छ। जसका कारण पनि बजारमा जिराको अभावको स्थिति छ। बढ्दो मागअनुसार उत्पादन नहुँदा भारतमै जिराको मूल्य बढेको श्रेष्ठ बताउँछन्। पछिल्लो समय चीनमा भारतीय जिराको अस्वाभाविक माग बढेको र सोहीअनुसार जिरा निर्यात भएको छ। जसका कारण भारतमै जिराको मूल्य बढ्दा नेपालमा समेत त्यसको असर परेको छ। यसैगरी भन्सार विभागको निर्देशनमा जिराको बजार मूल्यअनुसार भन्सार मूल्यांकन हुँदासमेत जिराको मूल्य थप बढेको व्यवसायीहरू बताउँछन्।
यसैगरी चामलको मूल्य पनि बढ्दो छ। गत वर्षदेखि नै चामलको मूल्य बढ्दो छ। एक त भारतले चामल निर्यातमा लगाएको करका कारण नेपाली बजारमा १७ सय देखि १८ सय प्रतिबोरामा बिक्री भइरहेको जिरा मसिनो चालमको मूल्य बढेर २ हजार रूपैयाँसम्म पुगेको थियो। तर केही महिना अगाडि मात्रै भारतले चामल निर्यातमै प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य बढ्दो छ। केही महिना अगाडि सम्म २ हजार प्रतिबोरा पाइने चामलको मूल्य बढेर २२ सयभन्दा माथि पुगेको छ।
पछिल्लो समयमा रातो दालको मूल्य पनि प्रतिकिलो १० रूपैयाँदेखि १५ रूपैयाँसम्म बढेको छ। यसैगरी गेडागुडीजन्य वस्तुको मूल्य पनि बढ्दो छ। पछिल्लो सयम चिनीको मूल्य पनि अस्वाभाविक रुपमा बढेको छ।
चिनीको मूल्य अहिले बढेर प्रतिकिलो १ सय ४० रूपैयाँसम्म पुगेको छ। यसैगरी अण्डाको मूल्य पनि प्रतिअण्डा नै ५ रूपैयाँसम्म बढेर १८ रूपैयाँसम्म पुगेको छ।
यी त केही प्रतिनिध वस्तु मात्रै हुन्। व्यापारीकै भनाइलाई आधार मान्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य २ महिनामै २० प्रतिशतसम्मले बढेको छ। जसकारण नेपाली भान्छा महँगो भइरहेको छ। खाद्यान्नसँगै इन्धनको मूल्य समेत बढेको छ। जसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने पनि मसलाजन्य वस्तुको मूल्य ४६ प्रतिशतसम्मले बढेको छ। बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत पर्ने मरमसलाको मूल्य सबैभन्दा धेरै ४५.५६ प्रतिशतले बढेको छ। यस्तै खाद्यान्नको १३.२० प्रतिशत, दूध तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले मूल्य बढेको छ।
गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिको १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तहरुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.७९ प्रतिशतले मूल्य बढेको छ।
काठमाडौंको उपभोक्तामा आधारित मुद्रास्फीति ८.५० प्रतिशतले बढेको छ। यस्तै तराईको ६.७० प्रतिशत, पहाडको ७.५० र हिमालमा ११.४६ प्रतिशतले मूल्यवृद्धि भएको छ।