आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा देखियो दोहोरो अंकको सुधार, २ अर्ब ९ करोडको कारोबार

मंगलबार, असोज ९ २०८०
सेयर बजारमा देखियो दोहोरो अंकको सुधार, २ अर्ब ९ करोडको कारोबार

काठमाडौं- यो साता लगातार दुई दिनको कारोबारमा घटेको सेयर बजारमा तेस्रो कारोबारमा भने दोहोरो अंकको वृद्धि देखिएको छ। आइतबार १९.४२ र सोमबार पनि ५.८९ अंकले घटेको बजार मंगलबार वृद्धितर्फ लागेको हो।

मंगलबार १८.४५ अंकले बढेर बजार २०२२.९१ बिन्दुमा पुगेको छ। १९० कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ। ३९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन आएको छैन। 

बजारमा अझै पनि स्थायी सुधारको आधार भने नदेखिएको विश्लेषकहरू बताउँछन्। नेपाल राष्ट्र बैंकले सेयर कर्जाको १२ करोडको सीमा हटाउने तयारी गरिएको विषय बाहिर आइरहँदा संगठित लगानीकर्ताहरू अब बजारले उचाइ लिने अभिव्यक्ति दिइरहेका छन्। सेयर कर्जामा १२ करोडको सीमाका कारण अर्थतन्त्र नै बिग्रियो भन्ने भाष्य निर्माण गरिएकाले उक्त सीमा हटाउने पक्षमा राष्ट्र बैंकसमेत सकारात्मक रहेको देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जाको दुरुपयोग भएको भन्दै एकाघर परिवारले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोडको कर्जा सीमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो।

गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले तल्लो ४ करोडको सीमा हटाइसकेको छ। यस्तै साना लगानीकर्तालाई संरक्षण गर्न भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० लाखसम्मका मार्जिन कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरेको छ। गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत २५ लाखभन्दा माथिको सेयर कर्जामा जोखिमभार १५० प्रतिशत कायम भएको थियो।

नेपालको सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ।


प्रकाशित : मंगलबार, असोज ९ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend