शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे प्रधानमन्त्री देउवा

बिहीबार , मंसिर २ २०७८
अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री कार्यालयले लामो समयदेखिको नेपाल-अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा कुराकानी भएको जनाएको छ। 

काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

नेपालको संसदले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनको विषयमा जटिलता बढ्दै जाँदा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार नेपाल भ्रमणमा आएका हुन्। तर उनले एमसीसीबारे कुराकानी गरे कि गरेनन् भन्ने खुलेको छैन। 

परराष्ट्र सचिव भरतराज पौडेलका अनुसार अमेरिका-नेपाल सम्बन्धका साथै भर्खरै ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी विषयमा केन्द्रित रहेर कुराकानी भएको छ। 

प्रधानमन्त्री कार्यालयले पनि लामो समयदेखिको नेपाल-अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा कुराकानी भएको जनाएको छ। 

pm lu.jpg

दक्षिण तथा मध्य एसियाली मामिला सम्बद्ध सहायकमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै नेपाल आएका हुन्। 

सन् २०१७ को सेप्टेम्बर १४ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। ३०० किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नती गर्ने आयोजना ४ वर्षदेखि कार्यान्वयन भएको छैन। यसैले एमसीसीका पक्षमा सत्ताबाहिर रहँदादेखि नै सकारात्मक रहेका प्रधानमन्त्री देउवासँग नेपाल भ्रमणमा रहेका लुले त्यसबारे पनि कुराकानी गर्ने धारणा रहेको थियो। 

लु आउनुअघि नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।

दुई महिनाअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले काठमाडौं भ्रमण गर्दै सम्झौता अनुमोदनका लागि आग्रह गरेकी थिइन्। सत्तारुढ दलभित्र नै एमसीसीबारे एकमत नभएका कारण सम्झौता अनुमोदन अन्योलमा छ। एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५०० मिलियन डलर अनुदान दिँदैछ।


प्रकाशित : बिहीबार , मंसिर २ २०७८१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend